धुर्मुस–सुन्तलीले एकीकृत बस्ती योजना अब रौतहट सन्तपुरमा

926
views

रौतहट ९ माघ । हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रौतहटको चन्द्रपुर नगरपालिका– ८ को सन्तपुरमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गर्ने भएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनको चौथो परियोजनाअन्तर्गत सन्तपुर दलित बस्तीका ४७ घर बाढीपीडित दलित समुदायका लागि नमुना परियोजनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

गत असोज ४ गतेबाट सुरु भएको सो परियोजना माघको २१ गते हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भइरहेको छ । नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिएका छन् । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमानित गरिए पनि २ करोड अपुग रहेको धुर्मुसले बताए । ‘मलाई आशा छ, अपुग रकम अवश्य जुट्नेछ,’ उनले भने ।

उनीहरूले साउदी अरब र अस्ट्रेलियामा कार्यक्रम गरेर संकलित रकमबाट बस्ती निर्माण सुरु गरेका हुन् । उनीहरूलाई कतिपयले बस्तीमै पुगेर रकम सहयोग गरेका पनि छन् । बस्ती निर्माणमा दुई सय ६१ जना कामदार खटिइरहेका छन् । हालसम्म ४७ वटै घर निर्माण भइसकेको छ । छानामा जस्तापाता हाल्ने काम पनि सकिएकोे छ । अहिले भ्यु टावर र मन्दिरबाहेकका अरू संरचना सबै अन्तिम चरणमा पुगेका छन् । बस्तीको बाटो, बिजुली, खानेपानीलगायतका काम बाँकी रहेको जानकारी धुर्मुसले दिए । तर, पनि हस्तान्तरण गर्नेभन्दा १० दिनअघि नै बस्ती निर्माण पूरा हुने विश्वास उनको छ ।

धुर्मुसले आफ्नो जन्मदिनको अवसर पारेर गत असोज ४ गते बस्ती निर्माण शिलान्यास गरेका थिए । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४७ घर दलित परिवारले माघ २१ गतेपछि सुविधायुक्त घरमा बस्न पाउनेछन् ।

जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवारका लागि फाउन्डेसनले घर निर्माण गरेको छ । नमुना बस्ती बनाउनका लागि जमिन, बाटोलगायत सबै पूर्वाधार भएकाले सन्तपुरको दलित बस्ती नै छनोट गरिएको धुर्मुसले बताए ।

अहिले आफूहरूको सम्पूर्ण ध्यान सन्तपुर नमुना बस्तीलाई सम्पन्न गरी समुदायलाई हस्तान्तरण गर्नमा मात्रै केन्द्रित भएको कुञ्जनाले बताइन् । उनले आफ्नो ज्यान अन्य ठाउँमा भए पनि मन भने सन्तपुरको बस्तीमै भएको सुनाइन् ।