अलास्कामा ८.२ म्याग्निच्युडको भूकम्प

712
views

एजेन्सी अलास्का । उत्तर अमेरिकी राज्य अलास्कामा मंगलबार ८ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक विभाग युएसजिएसले भूकम्पका कारण सुनामी आउन सक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाईका नागरिकलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको छ । अलास्काको कोडियक क्षेत्रबाट तीन सय किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको विभागले जनाएको छ ।

उत्तर–पश्चिमी प्यासिफिक सुनामी सचेतना केन्द्रले पनि भूकम्पपछिको प्रारम्भिक अनुसन्धानपछि भूकम्प प्रभावित क्षेत्रमा ‘खतरनाक तथा विशाल सुनामीका छाल’ आउन सक्ने चेतावनी दिएको छ । सो क्षेत्रवरपरका नागरिकलाई जमिनका अग्ला सतहमा शरण लिनसमेत केन्द्रले निर्देशन दिएको छ । यद्यपि, भूकम्पका कारण भएका ठूला क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । यसैबीच, इन्डोनेसियाको राजधानी जाकार्तामा मंगलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । भूकम्पपछि ठूला भवन र कार्यालयहरूबाट नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो ।