भारतले रोक्छ नेपाली अदुवा

675
views

काठमाण्डौ, १० माघ । १० दिनयता भारतले नेपालको अदुवा निकासी हुन दिएको छैन । यसअघि पनि पटक–पटक नेपालको कृषिजन्य उत्पादन निकासीमा अवरोध गर्दै आएको भारतले फेरि अदुवा निकासी रोकेको हो ।

अदुवा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काका अनुसार अदुवा लोड गरेर पूर्वी नाका काँकडभिट्टा पुगेका १ सय ५० वटा ट्रकलाई १० दिनयता भारत प्रवेश गर्न दिइएको छैन । भारतले रोक लगाएकै कारण लोड गरिएको अदुवालाई गोदाममा खन्याइको उनले जानकारी दिए । गोदाममा नअटेको अदुवा सडक किनारमै थुप्रो लगाइएको उनको भनाइ छ ।

‘यसरी पारी जान नपाउँदा डेढसय ट्रक अदुवा नेपालमै रोकियो, किसानको खेतमा त झन् २ हजारदेखि २२ सय ट्रक अदुवा अझै छ,’ अध्यक्ष खड्काले नयाँ पत्रिकासित भने, ‘भारतले फेरि हामीलाई दुःख दिन थाल्यो ।’ भारतीय भन्सारका कर्मचारीले ‘माथिको आदेश’ भन्दै अदुवा निकासीमा रोक लगाएको बताइएको छ ।

मन्त्रालयसम्म पहल
अदुवा निकासी गराउनका लागि आफूले पटक पटक मन्त्रालयसम्म पहल गरेको अध्यक्ष खड्काले बताए । ‘हामीले वाणिज्य मन्त्रालयसँग धेरै पटक समन्वय गर्न खोज्यौँ, आवश्यक सबै कागजपत्र पनि मन्त्रालय पठाइसक्यौँ,’ उनले भने, ‘धेरै प्रयास गर्दा पनि निकासी गराउन सकिएको छैन ।’

अदुवा लोड गरेर मेची भन्सार कार्यालय पुगेका सयौँ ट्रकहरु अदुवालाई फ्याक्ट्रीमा ‘अनलोड’ गरेर घर फर्किएका छन् । त्यसो त यसअघि पनि भारतले अदुवा निकासी हुन नदिएर दुःख दिने गरेको थियो । भन्सारमा केही दिन अवरोध गरेर भारत लैजान दिए पनि निकासी नै हुन नदिएर घर फर्काउनु परेको भने यो पहिलो पटक हो । इलाम, पाँचथर लगायत जिल्लामा उत्पादित अदुवा निकासीका लागि सयौँ ट्रक मेची भन्सार पुगेर फर्किएका हुन् ।

किन रोकियो अदुवा ?
अदुवा व्यवसायी संघका अध्यक्ष खड्काका अनुसार भारतले सन् २०१२ देखि नै अदुवालाई ‘रेस्टिकेट’ गरेको थियो । तर, पछि नेपाल–भारत वाणिज्य सन्धी भएपछि अदुवा निकासीमा सहज हुन थालेको उनको भनाइ छ । ‘नेपालसँग गरिएको सन्धीबारे भन्सार कार्यालयहरुलाई परिपत्र गर्नुपर्छ, तर भारतले आफ्ना भन्सार नाकाहरुमा परिपत्र नै गरेको छैन,’ अध्यक्ष खड्काले भने, ‘त्यसैकारण अदुवा रोकिएको हो ।’

कुटनीतिक पहल गरेर अदुवा निकासीको व्यवस्था मिलाइदिन अध्यक्ष खड्काले सरकारसँग आग्रह गरेका छन् । सन्धीविपरित भारतले अदुवा निकासीमा रोक लगाएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । ‘भारतको पनि आफ्नै पोलिसी छ,’ एक अदुवा व्यवसायी भन्छन्, ‘उसलाई चाहिँदा लिन्छ, भारतमै उत्पादन बढ्यो भने विभिन्न बहानामा निकासी रोकिदिन्छ, अहिले त्यही भएको हो ।’

उनका अनुसार नेपालबाट वार्षिक ४ लाख मेट्रिक टनसम्म अदुवा भारत निकासी हुने गरेको छ । तर, सरकारी तथ्यांकमा भने २ देखि अढाई लाख मेट्रिक टन मात्रै देखिने गरेको उनी बताउँछन् । खासगरी भारतले मुख्य सिजनमै नेपाली अदुवा निकासीमा रोक लगाइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बेखबर
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अदुवा निकासी ठप्प भएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भन्सार प्रमुखले नै हेर्दै हुनुहुन्छ होला, अदुवा व्यवसायीहरु पनि मसँग आएका छैनन् ।’

यता मेची भन्सार कार्यालयका अनुसार अदुवा निकासी हुने नाका यही नै हो । यसअघि पनि विभिन्न बहानामा भारतले निकासी रोकेको मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कँडेलले बताए । ‘कहिले सफा अदुवा नभएको विषयमा, कहिले प्लान्ट क्वारेन्टाइनका विषयमा त कहिले मूल्य महँगो भएको विषयमा अदुवा निकासी रोकिने गरेकै थियो, ‘उनले भने, ‘अरुबेला रोकिँदै मिल्दै खुल्दै गरेपनि यसपटक रोकिएको रोकियै भयो, के कारणले रोकिएको हो, हामीले पनि बुझ्न सकेका छैनौँ ।’

भन्सार कार्यालयका अनुसार एक कन्टेनर अदुवा निकासी गर्दा भन्सारमा १ सय १३ रुपैयाँ तिर्नुपर्छ । त्योबाहेक निकासीमा अन्य खर्च लाग्दैन । काँकडभिट्टामा अदुवा प्रशोधन एसोसिएसन छ । किसानबाट किनेर ल्याएको अदुवा त्यहाँ सफा गरिन्छ । कहिलेकाहीँ भारतले अदुवा सफा नभएको निहुँ निकालेर पनि निकासी रोक्ने गरेको भन्सारका कर्मचारी बताउँछन् । केही दिनमै अदुवा निकासी खुल्ने भन्सार कर्मचारीको अनुमान छ । नयाँपत्रिकाबाट