विश्वविद्यालयका पदाधिकारी विरुद्ध विद्यार्थी आन्दोलन

862
views

चितवन, ११ माघ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्णको वेवास्था गरी पदाधिकारी विलासी गाडी खरिदमा लागेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । पदाधिकारीका विरुद्ध नेपाल विद्यार्थी संघ यही माग ३ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको हो ।

विश्वविद्यालयले उपकुलपतिका लागि ७१ लाखको टाटा कम्पनीको हेग्जा, रजिष्ट्रारका लागि ६१ लाखको टाटा कम्पनीकै सफारी स्टोर्म, सेवा आयोगका अध्यक्षका लागि ५१ लाख रुपियाँको हुण्डाईको क्रेटा गाडी खरिद गरेको विश्वविद्यालयले जनाएको छ ।

त्यसैगरी दुईजना डिनका लागि रु ४० लाखको महेन्द्रा कम्पनीको स्कारपियो र रु ३६ लाखको टाटा कम्पनीको पिकअप गाडी, केन्द्रीय कार्यालय र अनुसन्धान निर्देशकका लागि पनि रु ३६ लाखको टाटा कम्पनीको दुई वटा पिकअप गाडी खरिद गएिको छ । विश्वविद्यालय स्थापना भएको छ वर्षअघिमात्रै सबै पदाधिकारीका लागि नयाँ गाडी खरिद गरिएको थियो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं कृषि विश्वविद्यालयका संयोजक सरोज रेग्मीले विद्यार्थीले अध्ययनका लागि अतिआवश्यक सामग्री नपाउनु तर पदाधिकारी विलासी गाडीमा हुइँकिनु राम्रो नभएको भन्दै यीसहित अन्य माग गर्दै नेविसंघ आन्दोलित भएको बताए ।

पदाधिकारीहरुले मनोमानी रुपमा पूर्वाधारबिना आंगिक क्याम्पस खोलेको आरोप पनि नेविसंघले लगाएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले उच्च पदका पदाधिकारी धेरै भएकाले आवश्यक भएरै गाडी खरिद गरिएको जानकारी दिए । अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले कम मूल्यका गाडी खरिद गरेको उनको दावी थियो ।