बायोपिकबाट बाहिरिएका अक्षयकुमार

808
views

काठमाडौं, १४ माघ । अक्षयकुमार ‘गुलसनकुमार’ बायोपिकबाट बाहिरिएका छन् । केही समयअघि गुलसनकुमारको बायोपिकको स्क्रिप्टमा काम गरिरहेको बताएका अक्षयले अन्ततः फिल्म छाडेको खबर छ । अक्षय बाहिरिएसँगै आमिर खानको नाम जोडिएको छ । उनले यो फिल्म ‘प्रोड्युस’ गर्ने बताइएको छ । उनले फिल्ममा मुख्य भूमिका निभाउन सक्ने समेत समाचार छ । त्यसो त अक्षयले छाडेको यो नै पहिलो फिल्म होइन । यसअघि पनि विभिन्न फिल्म छाडेका छन् ।

भाग मिल्खा भाग
निर्देशक राकेश ओमप्रकाश मेहरा र मिल्खा सिंह चाहन्थे, यो फिल्म अक्षयकुमारले गरून् । तर, अक्षय यो फिल्मको स्क्रिप्टमा सन्तुष्ट थिएनन् । त्यसैले छाडिदिए । यो फिल्मलाई फरहान अख्तरको सबैभन्दा सफल फिल्म मानिन्छ ।

बाजिगर
शाहरुख खानको ब्लकबस्टर फिल्म हो, बाजीगर । तर, शाहरुखको जिम्मामा आउनुअघि यो फिल्म पनि सलमान खान हुँदै अक्षयकुमारसम्म आएको थियो । तर, दुवै अभिनेताले प्रस्तावलाई अस्वीकार गरिदिए । सलमान र अक्षयले बाजिगरको नेगेटिभ भूमिका जिम्मा नलिने बताएका थिए ।

रेस
फिल्म ‘रेस’का लागि अब्बास मस्तानले पहिले अक्षयकुमारलाई प्रस्ताव गरेका थिए । तर, उनले यो फिल्म पनि छाडे । अक्षयले छाडेपछि मात्रै सैफअली खान फिल्ममा मुख्य भूमिकामा रहे । फिल्म सुपरहिट भयो ।

सुपर ३०
आनन्दकुमारको बायोपिक ‘सुपर ३०’का लागि अक्षयकुमारलाई प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गरे । अहिले यो फिल्मका लागि रितिक रोशनले मुख्य भूमिका निभाउने पक्का भएको छ । फिल्म निर्माणको तयारीमा छ ।