टिके डन इन्काउन्टर प्रकरणः झुटो सन्देशले प्रहरीमा लफडा

702
views

काठमाण्डौ, १५ माघ । शनिबार साँझ डकैत घटनाका नाइके ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिएको र्भाइरल बन्यो । अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो । महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अधिकांश सञ्चारमाध्यममा ‘प्रहरीको गोलीले टिके ढल्यो’ भन्दै प्रतिक्रिया दिएका थिए तर उनको उक्त प्रतिक्रिया आधा घन्टा पनि टिकेन। फेरि महाशाखाले भन्यो, ‘टिके जिउँदै छ, मरेको छैन। उपचारका लागि काठमाडौं ल्याइयो ।’

जिम्मेवार निकायबाट फैलिएको भ्रामक सूचनाले अहिले प्रहरीमा लफडा सुरु भएको छ। महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले ‘टिके कहिले र्मयो भन्ने, कहिले घाइते भन्ने ? यस्तो सूचना कसरी लिक भयो ? ’ भन्दै लोहनीसँग प्रस्टीकरण मागेका छन्। लोहनीले भने गलत सन्देश सुनाएको भन्दै चितवन रामनगरमा टिकेको खोजीमा जुटेको प्रहरी टोलीलाई झपारेको बताइएको छ । हात र तिघ्रामा गोली लागेर अचेत बनेको टिके म¥यो भन्दै प्रहरी टोलीले लोहनीलाई सूचना दिएको थियो । त्यही सूचनालाई आधिकारिक मान्दै बाहिर ल्याएको लोहनीले बताएका छन् । ‘प्रारम्भिक सूचना जे आयो, त्यही रिले गरें तर पछि अस्पताल ल्याएपछि टिके बाँचेको खबर आयो,’ लोहनीले भने, ‘गलत सूचना सुनाउने प्रहरीमाथि सोधपुछ गर्दै छु ।’ घाइते टिकेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

को हुन् टिके ?
रामेछाप दोरम्बाका सागर र टिके भन्ने टीकाबहादुर थापामगर चोरी, लुटपाट र डकैत घटनामा पटक–पटक पक्राउ पर्दै छुटेका अभियुक्त हुन् । ०६४ देखि आपराधिक घटनामा मुछिएको ऊ पछिल्लोपटक ०७३ जेठ २१ मा शिक्षण अस्पतालभित्र भएको मोटरसाइकल चोरी घटनामा संलग्न थियो । राजधानीमा भएका शृंखलाबद्ध सिक्री लुटपाट घटनामा उसको संलग्नता देखिएको प्रहरी दाबी छ । पहिलोपटक ०६४ वैशाख ६ गते डाँका घटनामा पक्राउ परेको ऊ ०६८ असार २४ गते मोटरसाइकल चोरीमा पक्राउ परी सोही वर्ष फागुन ५ गते छुटेको थियो ।

०६९ साउन ३ गते फेरि चोरी घटनामा पक्राउ र्पयो र धरौटीमा छुट्यो। लगत्तै सिक्री लुटपाटमा सक्रिय भयो। ०७१ माघ २१ मा नयाँ बानेश्वरमा ग्लोबल आईएमई बैंकका सेवाग्राहीबाट १८ लाख ८४ हजार, सोही वर्ष कात्तिक २१ मा कपनमा र पुस ६ गते जोरपाटीमा नगद लुटपाट तथा ०७२ वैशाख २७ मा बाफलमा र जेठ २७ मा बुद्धनगरमा सिक्री लुटपाटमा उसको संलग्नता रहेको प्रहरी दाबी छ । उसले ०७२ जेठ २० मा बानेश्वरबाट मोटरसाइकल र जेठ ३२ गते भाटभटेनी सुपरमार्केटको पार्किङबाट बोलेरो गाडी चोरेको आरोप प्रहरीले लगाएको छ । पछिल्लोपटक चोरी घटनामा डिल्लीबजार सदरखोरमा जेलजीवन व्यतित गरिरहेको टिके काँडेतार काटेर भागेपछि प्रहरीले खोजी गरिरहेको थियो । त्यही क्रममा शनिबार दोहोरो फायर भएको महाशाखाको दाबी छ । अन्नपूर्ण पोष्टबाट