प्रधानमन्त्री र अध्यक्षको टुङ्गो लाग्नासाथ पार्टी एकता

748
views

काठमाण्डौ, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनदेखि लगातार छलफल भइरहेको छ । लगातार तीन दिनदेखि भइरहेको सघन छलफल शुभ सङ्केतका रूपमा देखिएको छ ।

दुई नेताको वृहत छलफल सरकार गठन र पार्टी एकतामा केन्द्रित भएको माओवादी नेता मातृका यादवको भनाई छ ।‘माघ १२ गते साँझ भक्तपुरको एक गोप्य ठाउँमा अध्यक्षद्वयबीच गम्भीर वार्ता भएको थियो । त्यसयता लगातार तीन दिनदेखि वार्ता जारी छ’ यादवको भनाई छ । दुई नेताका बीचमा प्रधानमन्त्री को बन्ने र अध्यक्ष को भन्ने विषयमा अलिक पेचिलो छलफल भएको छ । प्रधानमन्त्री र अध्यक्षका विषयमा टुङ्गो लाग्नासाथ पार्टी एकता हुने संकेत देखिएको छ ।

दुई नेताबीच ‘वन टु वान’ तथा फरकफरक गोप्य छलफल हुन थालेपछि एकता हुने कुरामा वाम गठबन्धनका नेतासमेत आशावादी देखिएका छन् । एमालेले प्रधानमन्त्री र पार्टी अध्यक्षको दाबी छाडेको छैन भने माओवादी केन्द्र सरकारको नेतृत्व एमालेले गरे पार्टी अध्यक्षको जिम्मेवारी माओवादीलाई दिनुपर्ने अडानमा छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले ‘गिभ एन्ड टेक’ नगर्दा पार्टी एकता प्रक्रिया अगाडि नबढ्ने बताएका छन् । गौतमको दुई अध्यक्षको साझा सहमति र नेतृत्व क्षमतामै पार्टी एकता सम्भव हुने दाबी छ । यसअघि असोज १७ गतेको छ बुँदे सहमतिले नै स्पष्ट पारिसकेको छ ।

माओवादी केन्द्रले भने सरकार गठनअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकता प्रक्रिया र सरकार गठन प्रक्रिया अलगअलग विषय भएकाले एकै ठाउँमा राखेर हेर्न नहुने भनार्य छ ।

मुख्यमन्त्रीमा नेताबीच सहमति
दुई नेताबीचको भेटमा नयाँ सरकार गठन, प्रदेशसभामा पद विभाजनदेखि लिएर राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा समेत छलफल भएको बताइएको छ । अध्यक्षबीचको छलफललगत्तै वाम गठबन्धनको कार्यदलले प्रदेशसभामा मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँट टुङ्गो लगाएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले दुई अध्यक्षबीच राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा विस्तृत छलफल भएको जानकारी दिए ।

स्रोतका अनुसार दुई अध्यक्षबीच प्रदेश ३ मा एमालेबाट अष्टलक्ष्मी शाक्य, ४ मा पृथ्वीसुब्बा गुरुङ र ५ मा शङ्कर पोखरेल तथा प्रदेश ६ मा माओवादीबाट महेन्द्रबहादुर शाही र ७ मा वीरमान चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।