भारतलाई बैद्य माओवादी निकट भातृ संगठनहरुको चेतावनी

सिमा अतिक्रमणका विरुद्ध प्रतिकारमा उत्रिनु नपरोस्

942
views

चितवन, १७ माघ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, क्रान्तिकारी युवा लिग, अखिल (क्रान्तिकारी) लगायतका संगठनले विरगंजको छपकैयामा भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विषयलाई लिएर विरोध जारी राखेको छ ।

क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा युवा र विध्यार्थीहरुको संयुक्त टोलीले अतिक्रमित भूमि छपकैयामा नै पुगेर आज सीमा अतिक्रमणको विरोध तथा खबरदारी गर्ने कार्यक्रम तय गरेको छ । क्रान्तिकारी युवा र विध्यार्थीको संयुक्त टोलीले आज माघ १७ गते छपकैयामा पुगेर विरोध प्रदर्शन तथा खबरदारी गर्ने कार्यक्रम तय गरिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले बताए ।

क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन आकाशले दिएको जनाकारी अनुसार युवा र विद्यार्थीहरुको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्ने, अतिक्रमित भूमि फिर्ताको माग गर्दै कोणसभा तथा विरोध प्रदर्शन गरेर सीमा अतिक्रमण गर्ने भारतीय विस्तारवादी शासकलाई कडा शब्दमा खबरदारी गर्ने जनाए ।

यसैबीच, चितवनको चौबिसकोठी, पुलचोक, बसपार्क, लोथर, भण्डारा, सौराहालगायत दर्जनौं स्थानमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणका विरोधममा कोणसभाहरु भएका छन् । ती सभाहरुलाई क्रान्तिकारी माओवादी तथा देजमोका नेताहरु अम्बिका मुड्भरी, अशोक शर्मा, घननाथ सापकोटालगायतले सम्बोधन गर्दै विस्तारवादको नीतिको घोर विरोध गरेका थिए । सिमा अतिक्रमणको विषयलाई लिएर अखिल (क्रान्तिकारी) चितवन जिल्लाले जिल्ला प्रशासनलाई एक ज्ञापन पत्र समेत बुझाएको छ ।