होटलमा सांसदलाई ४० प्रतिशत छुट

544
views

काठमाडौं । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सहभागी हुन १३ जिल्लाका अधिकांश सांसद बुधबार साँझसम्म हेटौंडा आइपुगेका छन्। हेटौंडाका होटलमा बस्ने सांसदलाई होटल एसोसिएसन मकवानपुरले ४० प्रतिशत छुट दिएको छ। ‘माननीयहरूलाई होटलमा खान, बस्नका लागि हामीले ४० प्रतिशत छुट दिएका छौं’, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले भने, ‘माननीयहरुको हेटौंडा बसाइ सुखद बनाउन हामी लागिपरेका छौं।’ यसअघि शपथग्रहणका लागि हेटौंडा आएका सांसदलाई होटल एसोसिएसनले निःशुल्क खाने, बस्ने व्यवस्था गरेको थियो।

माघ ७ गते प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथग्रहण भएको थियो। माघ ११ गते ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ गते दिउँसो १ बजेका लागि प्रथम प्रदेशसभा बैठक आह्वान गरेकी थिइन्। संविधानको धारा १८२ ९१० मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ। साथै, प्रदेश प्रमुखले प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन बोलाउनुपर्ने हुन्छ।

जसअनुसार सभामुख र उपसभामुखको छनोटपछि प्रदेश अधिवेशन हुनेछ। संवैधानिक व्यवस्थाअनुसार माघ अन्तिमसम्म सभामुख चयन भई फागुन ३ गतेभित्र प्रदेश सरकार निर्माण भइसक्नुपर्नेछ। अन्नपूर्णपोष्टबाट