दरबारमार्ग बलत्कार घटना डिएसपी र ईन्सपेक्टरको सरुवा

घटनाकी पीडित युवतीले दिईन् बलात्कृत नभएको बयान

942
views

काठमाण्डौ, १८, माघ ।, गत माघ ७ गते दरबारमार्गको ल्याण्डमार्क सामुहिक बलात्कारको घटनाकी पीडित युवतीले आफू बलात्कृत नभएको बयान दिएकी छिन् । महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वमा गठित छानविन समितिलाई बयान दिदैँ उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । यसअघि उनले मौखिक उजुरी दिदैँ आफू माथि बलात्कार भएको बताएकी थिईन् ।

बयानका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकु पुगेकी ती युवतीले वयान दिदै ‘रामेछापका शैलेश कार्की आफ्नो केटासाथी भएको र सहमतिमै त्यो साँझ एकपटक शारीरिक सम्पर्क भएको’ बताएकी थिइन् ।

सामूहिक बलात्कारको मौखिक उजुरी आएपछि प्रहरी कार्यालय बाहिर गुपचुप मिलापत्रको कागज गराउने महानगरीय प्रहरी वृत दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र वृत ईन्चार्ज डिएसपी तिलक भारतीलाई त्यहाँबाट सरुवा गरेर अनुसन्धान सुरु गरिएको छ ।

अनुसन्धानका लागी डिएसपी भारतीलाई काठमाडौं जिल्लामा हाजिर गराइएको छ भने इन्सपेक्टर ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा राखिएको छ । यसै गरि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्ग बलात्कार प्रकरणबारे महिला अस्मिताको विषयमा कुनै मिलापत्र हुन नसक्ने बताएका छन् ।

बिहीबार महानगरीय प्रहरी वृत दरबारमार्गको कार्यालय भवन तथा ब्यारेक उद्घाटन गर्दै आईजीपी अर्यालले भने, ‘यो नवनिर्मित सुन्दर भवनमा असुन्दर काम भएको सूचना पाएका छौं ।’ ‘महिला अस्मिताको विषय कुनै मिलापत्र हुन सक्दैन’ उनले भने, ‘छानबीनको क्रममा दोषी देखिने सबैलाई कारवाही हुन्छ ।’सन्सार न्युजबाट