राजधानीमा दोस्रो बैंकिङ एक्स्पो मेलाको आयोजना

853
views

काठमाण्डौ । काठमाण्डौमा आयोजना गर्न लागिएको दोस्रो बैंकिङ एक्स्पो मेला २०१८ ले मेनेजमेन्टका विद्यार्थीहरुलाई फोकस गरेर अत्यावश्यकीय जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी, व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकम अभावमा उद्यम सुरु गर्न नसकिरहेका युवा र स्वदेशमै अवसर खोजिरहेकाहरुलाई लक्षित गरेको संयोजक माधव निर्दोषले जानकारी दिए ।

उक्त एक्स्पोमा बैंक वित्तका सूचनामूलक स्टलहरु रहेका छन् । एक्स्पोमा तथा बैंक, बीमा, रेमिट्यान्स, माइक्रोफाइनन्स एवम् सेयर बजारसँग सम्बन्धित विभिन्न संस्थाहरुले सूचनामूलक स्टल राखेका छन् । एक्स्पोमा स्वरो्जगार कोष, बीमा समिति, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था मर्चेन्ट बैंक लगायतले आ–आफ्नो सूचनामूलक स्टलहरु संचालन गरिएको छ ।

एक्स्पोमा सहभागीहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । सहभागीहरुले बैंकिङ ज्ञान लिदै युवा स्वरोजगार कोषबाट विनाधितो कर्जा कसरी पाउने ? कर्जा पउने आधार, कुन बैंकमा पैसा राख्दा कति व्याज, कुन बैंकले दिने सेवा सुविधा कस्तो, बीमा के हो, किन र कसरी गर्ने ? कुन बीमा कम्पनीले कस्तो सेवा दिन्छन् ? लगायत थुप्रै अत्यावश्यकीय जानकारीहरु बैंकिङ एक्स्पोमा प्राप्त गर्न सकिने निर्दोषले जनाए ।

एक्स्पोमा दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी समेत संचालन गरिने भएको छ । गोष्ठीमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबी नेपालले सम्बोधन गर्नुका साथै नेपाल धितोपत्र बोर्ड, बिमा समिति, यूवा स्वरोजगार कोष, नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैकर्स एसोसिएसन, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैकर्स संघ लगायत अन्य बैंक, बीमा र सेयरसँग सम्बन्धित व्यक्तित्वहरुलाई सहभागी गराईने भएको छ ।

एक्स्पोमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, नेपाल क्लियरिङ हाउसका निलेशमान सिंह प्रधान, बैंकर्स संघका पदाधिकारी, नेपाल राष्ट्र बैंकका कार्यकारी अधिकृत एवम् बैंकिङ प्रविधि सम्बन्धी सहभागीलाई जानकारी गराउने उद्वेश्य लिइएको छ ।