प्रदेश नं पाँचको बैठक बस्दै

780
views

बुटवल, २१ माघ । प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा आज अपराह्नबाट बसेको छ । प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गरेका थिए ।

प्रदेश नं ५का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको अवसरमा सबैलाई बधाई दिएका थिए ।

बैठकमा अहिले दलीय आधारमा प्रदेश सदस्यले बोल्ने क्रम जारी छ । यसपछि आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । सो प्रदेशसभामा कूल ८७ सदस्य छन् ।

यसअघि आज बिहान पहिलो बैठकमा प्रस्तुत गरिने बैठकका कार्यसूचीलाई प्रदेशसभाको सचिवालयले अन्तिम रुप दिएको थियो । उक्त सर्वदलीय बैठकले पाँच विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतिबाट निर्णय गरेको थियो ।

अपराह्न १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी गरिएको प्रदेशसभाको बैठक सहजीकरणमा आउनुभएका संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।