प्रदेश नम्बर ४ प्रदेशसभाको पहिलो बैठक आज बस्दै

678
views

पोखरा – प्रदेश नम्बर ४ को पहिलो बैठक आज नदिपुर स्थित नगरविकास प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । बैठकको सबै तयारी पूरा भएकाले बैठकमा सहभागी हुने प्रदेश सदस्यहरू पोखरामा केन्द्रित भएका छन् । बिहान ११ बजे बैठक सुरु हुने सचिवालयले जनाएको छ । 

प्रदेश ननम्बर ४ मा बैठकको अध्यक्षर्ता जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठले गर्ने भएका छन् । प्रदेश ४ मा ११ जिल्लाका ६० जना प्रदेशसभा सदस्यहरु रहेका छन् । यीमध्ये ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक सदस्य हुन् । तीमध्ये ५९ जना सदस्यमात्र बैठकमा सहभागी हुन पाउनेछन् ।

बैठकको व्यवस्थापनका लागि आएका संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले तयारी पूरा भएको जानकारी दिए । प्रदेशसभाको पहिलो बैठकका लागि आवश्यक भौतिक संरचनादेखि बैठकको प्रक्रिया तयारी भएको उनले बताए । पहिलो बैठकलाई व्यवस्थित बनाउन आएका संघीय संसद्को सचिवालयका पदाधिकारीले शनिबार सर्वदलीय बैठक बोलाएर व्यवस्थापन गरेका थिए ।

बैठकमा प्रदेश प्रमुखको पत्र ज्येष्ठ सदस्यले पढेर सुनाउँनेछन् । त्यसपछि बैठकले अर्को बैठक सञ्चालन तथा प्रदेशको संसद् अधिवेशन सञ्चालनका लागि प्रदेशसभा अन्तरिम कार्यविधि २०७४ पास गर्नेछ । संघीय संसद् सचिवालयले तयार गरेको कार्यविधिलाई प्रदेशसभा बैठकअघि दलीय सहमति गरी प्रदेशसभाको पहिलो बैठकले पारित गर्नेछ । प्रदेशसभाबाट अन्तरिम कार्यविधि पारित भएपछि नियमावली नबनाएसम्मका लागि यसैमा आधारित भएर प्रदेशसभाको कारबाही सञ्चालन हुनेछ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संविधानको बाध्यकारी नियमअनुसार फागुन ३ गते सभामुखको निर्वाचनको मिति तय गरिएको छ । फागुन ६ गते उपसभामुख निर्वाचन गर्ने तयारी पनि भइरहेको छ ।