‘सैनिक कल्याणकारी कोष’ मा ४२ अर्ब ३ करोड ३८ लाख बढी

2163
views

रिना खनाल/काठमाण्डौ । नेपाली सेना मध्य पृतना हेर्ड क्वाटर अन्तर्गत चितवन र मकवानपुर जिल्लाका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारको लागि चितवन जिल्लाको भरतपुर व्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति क्षत्रीले ‘सैनिक कल्याणकारी कोष’ स्थापनापछि नेपाली सेनामा संस्थागत रुपमा कल्याणकारी कार्यक्रमहरुको थालनी भएको र २०७४ साल पौष मसान्तसम्म उक्त कोषको मौज्दात ४२ अर्ब ३ करोड ३८ लाख ६९ हजार पुगेको जानकारी दिनुभयो ।

प्रधान सेनापति क्षत्रीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरु सहित कोषका हिताधिकारीहरुको संख्या करिब ८ लाख पुगेको पनि उल्लेख गर्नुभयो ।

उहाँले ‘सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समिति’ को मातहतमा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहने गरी नेपाली सेनाका बहालवाला र अवकास प्राप्त सैनिक तथा सम्बन्धित विषयका विज्ञहरु सम्मिलित ‘नेपाली सेना कल्याणकारी बोर्ड’ ले सैनिक ऐनको परिधिमा रही स्वास्थ्य, शिक्षा, स्वःरोजगार र पुनः रोजगार कार्यक्रमहरुमा हिताधिकारीहरुको पहँुच अभिवृद्धि गर्न विशेष पहल गरीरहेको समेत समापन कार्यक्रममा जानकारी गराउनुभयो ।

कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी चित्र बहादुर गुरुङ्ग, रथी बालानन्द शर्मा, वलाधिकृत रथी पूर्णचन्द्र थापाले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापनपछि प्रधानसेनापति क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनुभएकाहरुसँग सामुहिक छलफल तथा अन्तक्रिया गर्नुभएको थियो ।सम्मेलनमा मध्य पृतना अन्र्तगतको चितवन र मकवानपुर जिल्लाका करिव ३७ सय २३ जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविर

सम्मेलनमा सञ्चालित शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु गरी करिव १५ सय ९५ जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

पुरस्कार

नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण गरिएको थियो । यस्तै अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित २ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।