पार्टी कार्यालय बिक्री गरी चुनाव खर्च नर्तिन माके पर्वतलाई चेतावनी

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले दिए धम्की

1386
views

पर्वत, २३, माघ । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतले पार्टी कार्यालय भवनका विषयमा चेतावनी मुलक विज्ञप्ती जारी गरेका छन् । नेकपा माओवादी केन्द्र पर्वतले पार्टी कार्यालयलाई बन्धक बनाएको भन्दै उक्त पार्टी कार्यालय भवनलाई सहिद प्रतिष्ठान भवनका रुपमा नामाकरण गर्न र सहिद परिवारको नाउँमा ल्याउन आग्रह गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेल र नेकपा पर्वतका जिल्ला सेक्रेटरी भिम बहादुर हमाल ‘अल्वट’ द्धारा हस्ताक्षरीत संयुक्त विज्ञप्तीमा सहिद परिवारको रगत, पार्टी कार्यकर्ताको परिश्रम, सर्वसाधारणको आर्थिक सहयोग र सरकारी बजेटबाट निर्मित पार्टी कार्यालय भवन चुनावी ऋणमा बिक्रि नगर्न चेतावनी दिदै उक्त विज्ञप्तीमा भनिएको छ ‘नेपालमा भएको दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि नेपाली जनसमुदायहरुले ठूलाठूला बलिदानीपूर्ण संघर्षसँगै महान १० बर्षे जनयुद्व गर्नुप¥यो । परन्तुः १० बर्षको जनयुद्वलाई पनि वेवास्था गर्दै प्रतिक्रियावादी सत्तामा लिन हुन पुगेको माओवादी केन्द्र नामको संशोधनवादी÷सुधारवादी पार्टीसँग पम्ठाजोरी खेल्न वाध्य भएका छौं ।

समाथै विज्ञप्तीमा सहिदहरुको बलिदानीपूर्ण संघर्षलाई कुल्चने प्रयास गर्दै माओवादी केन्द्र नामको पर्वत जिल्ला संगठन समितिले संसदिय चुनावका लागि विचार त बिक्रि ग¥यो नै हुँदा हुँदा चुनावी खर्चका लागि पार्टी कार्यालय बन्धक बनाउन पुगेको जनाईएको छ ।

विज्ञप्तीमा पर्वत जिल्लाका ति होनाहार सहिदले बगाएको रगत, पार्टीका क्रान्तिकारी योद्वाहरुको परिश्रम, आम जनसमुदायहरुको आर्थिक÷नैतिक र भौतिक सहयोगसँगै राज्यको ढुकुटीबाट निर्मित भवनलाई हामीले मनोमानी गर्न नदिने निष्कर्ष सहित उक्त भवनलाई सहिद प्रतिष्ठान भवनका रुपमा नामाकरण गर्न र सो भवन व्यक्तिका नाउँबाट सहिद प्रतिष्ठानका नाउँमा ल्याउन समयमै आग्रह गरिएको छ ।

विज्ञप्तीमा पर्वत जिल्ला कुश्मा नगरपालिका–५ लभ्लीडाँडामा रहेको उक्त साढे दुईतले भवन व्यक्तिका नाउँबाट भोगचलन, बन्धक राख्ने वा बेचबिखन गरेमा सम्बन्धित व्यक्तिको चलअचल समपत्तिबाट असुल उपर गर्ने चेतावनी दिदै यस्ता क्रियाक्लापको भण्डाफोर गर्न अपिल गर्दछौं ।