उत्तर कोरियाले आफ्ना उच्च अधिकारी पठाउने

852
views

एजेन्सी सिउल, २३ माघ । उत्तर कोरियाले अर्को महिना दक्षिण कोरियामा विन्टर ओलम्पिक खेलकुद प्रतियोगिताअघि आफ्ना उच्च अधिकारी पठाउने भएको छ । संसद्का प्रमुख किम यङ नामलाई उत्तर कोरियाको दलका नेताका रूपमा पठाउन लागेको प्योङयाङले जनाएको छ ।

विन्टर ओलम्पिकमा उत्तर कोरियाले पनि सहभागिता जनाउने भएपछि दुई कोरियाबीचको सम्बन्धमा सुधार आइरहेको अन्तर्रा्ष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

चार वर्षपछि उच्च पदाधिकारी
उत्तर कोरियाले दक्षिण कोरियामा लगभग चार वर्षपछि ठूला सरकारी अधिकारी पठाउन लागेको हो । यसअघि सन् २०१४ मा दक्षिण कोरियामा दुई मुलुकबीच शान्तिवार्ताका क्रममा रक्षा मन्त्रालयका उच्च अधिकारी सहभागी भएका थिए ।

निरन्तर रूपमा उत्तर कोरियाले आणविक हतियार परीक्षण गरेपछि उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध चिसिएको हो । यता, दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लुहाउसका एक पदाधिकारीले किम यङको भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य हुने विश्वास राखेका छन् । उत्तर कोरियाले पनि शान्ति चाहेको सन्देश दिएको उनले बताए ।

२२ सदस्यीय प्रतिनिधि
विन्टर ओलम्पिकमा खेलाडी, प्रशिक्षक, टिम म्यानेजरबाहेक सरकारीस्तरबाट २२ जना सदस्य दक्षिण कोरिया जानेछन् । ती सबैको नेतृत्व यङले नै गर्ने प्योङयाङको एकता मन्त्रालयले जनाएको छ ।

एकता मन्त्रालयले एक विज्ञप्तिमा दक्षिण कोरियामा सरकारी पदाधिकारीले त्यहाँका उच्च पदाधिकारीसँग वार्तालाप गर्ने उल्लेख गरेको छ । किम यङको नेतृत्वमा आउने टोलीमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी हुनेछन् ।

सो टोलीले आउँदो शुक्रबारदेखि आइतबारसम्म दक्षिण कोरियाको भ्रमण गर्नेछ । यता, दक्षिण कोरियाले छिमेकी मुलुकबाट आउने पदाधिकारीलाई कडा सुरक्षा प्रदान गर्ने भएको छ ।

एउटै झन्डामुनि मार्चपास
विन्टर ओलम्पिक प्रतियोगिताले दुई कोरियालाई शान्ति सन्देशको काम गरेको अन्तर्रा्ष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । विन्टर ओलम्पिकका क्रममा हुने मार्चपासमा दक्षिण र उत्तर कोरियाका खेलाडीले एउटै झन्डामुनि मार्चपास गर्नेछन् । दक्षिण कोरियामा लामो समयपछि उत्तर कोरियाको झन्डा पनि फहराइएको जनाइएको छ ।