सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सकियो, ९९ प्रतिशत मतदान

753
views

काठमाण्डौ, २४ माघ । राष्ट्रिय सभाको निर्वाचन सातै प्रदेशमा सम्पन्न भएको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा १० बजेबाट सुरु भएको निर्वाचन ३ बजे सम्पन्न भएको निर्वाचनमा ९९ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने भएकोले बिहीबारबाटै परिणाम आउन सुरु हुने र शुक्रबारभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने आयोगका ढकालले जानकारी दिए ।

प्रदेश ४ मा राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका थिए ।

प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश ६ मा पनि निर्वाचन सम्पन्न भयो । अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएर सतप्रतिशत मतदान भएको हो । प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् ।

खुला र महिला ३र३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एकरएक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् । जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।

त्यस्तै प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् । दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले मतदान गरेका थिए । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा आएनन् ।