बट्टारको हावाघरमा चित्रकला प्रर्दशनी

1181
views

गमला लामा
नुवाकोट । अन्तराष्ट्रिय चित्रकलामा भाग लिन स्लोभेनियाबाट छ जना कलाकारहरु नुवाकोट आए । उनीहरुले बसिवियालो नुवाकोटले आयोजना गरेको चारदिने अन्तराष्ट्रिय चित्रकला कार्यशालामा सहभागिता जनाए । कार्यशालाको अन्तिम बट्टारको हावाघरमा चित्रकला प्रर्दशनी गरिएको थियो । कार्यशालामा २३ जना कलाकारहरुको सहभागिता रहेको थियो । नुवाकोटको विभिन्न स्थानहरुको भ्रमण गरेर कलाकार टोलीले जिल्लाको जनजीवन, प्राकृतिक, ऐतिहासिक पक्षलाई चित्रमा उतारेका थिए ।

स्लोभेनियाका छ जना कलाकार, काठमाडौंका १० भन्दा बढी र नुवाकोट र रसुवाको कलाकारहरुको कार्याशालामा सहभागिता रहेको थियो । उनीहरुले दुई दिनसम्म कोरेको भित्रको सार्वजनिक र खुल्ला ठाउँमा प्रर्दशनी भयो । चित्रकला प्रर्दशनीमा ५० भन्दा बढी चित्रहरु रहेको थियो । हावाघर स्थित मुल सडकको किनारामा गरिएको चित्रकला प्रर्दशनी अवलोकनका लागि, विभिन्न क्याम्पस, विद्यालयबाट विद्यार्थी, शिक्षक, कला संस्कृतिमा रुची राख्ने नागरिकहरुको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय चित्रकला कार्याशाला समापन तथा चित्रकला प्रर्दशनी कार्यक्रममा प्रमुख अतिथि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले यो कार्यशालाले नुवाकोटलाई संसारभरी नै फैलाउन मद्दत गरेको बताउनुभयो । चित्रकला र कलाकारिता पेशा मात्रै नभई ब्यवसाय समेत रहेको र संघले यसलाई निजी क्षेत्रको ब्यवसायको रुपमा ग्रहण गर्ने उहाँले बताउनुभयो ।

चित्रकला प्रर्दशनी हेर्न पुगेका स्कुले विद्यार्थीहरुले नुवाकोट जिल्लामा पनि संसारलाई देखाउन मिल्ने चिजहरु रहेको जानकारी पाएको प्रतिकृया दिए । उनीहरुले उक्त प्रर्दशनीले आफुलाई शैक्षिक ज्ञानको साथमा कला, संस्कृति प्रति मोह जागेको बताएका छन् । बसिवियालो नुवाकोटका अभियन्ता हरिकृष्ण श्रेष्ठले नुवाकोट जिल्ला कला, साहित्य र संस्कृतिमा धनी रहेको र त्यसको पहिचान र प्रचारका लागि आफुहरु लागिपरेको बताउनुभयो ।

उहाँले नुवाकोट जिल्लाको लुकेको पाटाका रुपमा रहेको ऐतिहासिक र साँस्कृतिक पाटोलाई यो कार्यशालाले अगाडी ल्याएको बताउनुभयो । स्वदेशी तथा विदेशी कलाकाहरुले तयार पारेको ५० भन्दा बढी चित्रकला झण्डै आठ सय दर्शकले अवलोकन गरेको आयोजक संस्थाका ध्रुवकुमार रावलले जानकारी दिनुभयो ।