वाम एकता संयोजन समिति बैठक आज

1236
views

काठमाडौं, २६ माघ । एमाले–माओवादी केन्द्रले पार्टी एकतासम्बन्धमा अहिलेसम्म भएका कार्यप्रगति समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएका छन् । एकता प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो बढिरहँदा दुई पार्टीका अध्यक्षले शुक्रबार एकता संयोजन समितिको बैठक बोलाएका हुन् । बैठकमा एकतासम्बन्धी कार्यप्रगति समीक्षा गर्दै आगामी कार्यभारबारे छलफल गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले बताए ।

बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच ललितपुरको मानभवनस्थित एक निजी निवासमा एक्लाएक्लै वार्ता भएको थियो । छलफलमा दुवै अध्यक्षले संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने निर्णय गरेका हुन् । शनिबार राष्ट्रपति निवासमा भएको लन्च बैठकपछि ओली–दाहालबीच छलफल भएको हो । एकीकृत पार्टीको वैचारिक–राजनीतिक कार्यदिशा र शीर्ष नेतृत्वको पदीय व्यवस्थापनले पार्टी एकता अल्झिएपछि समाधान गर्न दुई अध्यक्षले विभिन्न विकल्पमाथि छलफल गरिरहेको गठबन्धनका नेताले बताएका छन् ।

एकता समितिको १८ माघको बैठकले दुई अध्यक्षबीच अझै छलफल गर्ने, समितिका नेताहरूबीच पनि अनौपचारिक छलफल गर्ने र समितिको बैठक बसेर कार्यदल गठन गरी एकता प्रक्रिया टुंग्याउने छलफल भएको थियो । बिहीबार दुई अध्यक्षबीच सैद्धान्तिक र भावनात्मक विषयमा छलफल केन्द्रित भएर संयोजन समितिको बैठक बोलाइएको महराले बताए । बिहीबारको छलफल त्यसैको निरन्तरता भएको उनले बताए । ‘पहिलेका बैठककै निरन्तरतास्वरूप छलफल भएको हो, ठ्याक्कै निष्कर्षमा आज पनि पुगिएको छैन । छलफल अझै जारी छ’, उनले भने, ‘थप छलफल गर्न एकता संयोजन समिति बैठक बोलाइने छ ।’

ओलीका प्रेस संयोजक चेतन अधिकारीले छलफल सकारात्मक रहेकाले एकता समिति बैठकमा थप छलफल हुने बताए। ‘एकता संयोजन समितिको बैठक सम्भवतः शुक्रबार बस्छ, समय तोकिएको छैन । समय मिलाएर बैठक बस्छ’, उनले भने, ‘कुराकानी सकारात्मक छ ।’ माओवादीले सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा र्पुयाउन जोड गरिरहेको छ । तर एमाले भने सरकार गठन र एकता प्रक्रिया सँगसँगै छलफलमा लगेर टुंग्याउने बताउँदै आएको छ । दुई अध्यक्षबीच बिहीबार राष्ट्रियसभाको निर्वाचन परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको र एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा समितिमा थप छलफल गर्न छलफल भएको महराले बताए । अन्नपूर्णपोष्टबाट