मुख्यमन्त्रीका लागि प्रदेश १ मा एमाले नेता राई र आचार्यको टक्कर

803
views

काठमाडौं २६ माघ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्ने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । सर्वसम्मत नभए मतदान प्रक्रियाबाटै भएपनि एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको भनाई छ ।

दलको नेता राई कि आचार्य ?
एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षका हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ । नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् ।

उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा देखिएको छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो ।