ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

1077
views

कमाठमाण्डौ, २९ माघ । केपीओली प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । फागुन महिनाभित्रमा नेपाल आउने तयारी भएको स्रोतको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएलगत्तै मोदी नेपाल आउने तय भएको थियो ।

अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यासका लागि मोदी नेपाल आउने निश्चित भएपनि समय तोकिएको थिएन । त्यसैका लागि यही फागुनमा आउन लागेका हुन् ।

मोदी नेपाल आएका बेला मुक्तिनाथ, लुम्बिनी र जनकपुरको पनि भ्रमण गर्ने बताइएको छ । मोदीको नेपाल भ्रमणका लागि कार्यक्रम र योजना बनाउन नेपाल र भारत दुवै पक्षले सुरु गरिसकेको बताइएको छ । विगतमा ओली र भारतबिचको सम्बन्ध चिसिएको चर्चा भए पनि त्यसलाई चिर्नका लागि मोदी र ओली अहिले सक्रिय भएका हुन् ।

विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले दाबी गरको थिए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने पनि उनले बताएका थिए ।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीको दाबी थियो ।