शक्तिशाली मन्त्रालयमा जम्मरकट्टेलको मन

876
views

हेटौंडा, २९ माघ । प्रदेश ३ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रले शालिकराम जम्मरकट्टेललाई सरकारमा सहभागी गराउने भएको छ ।

जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गर्दै आएका छन् । उक्त प्रदेशमा सोमबार विहान सपथ लिएका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद् गठनको तयारीमा छन् । उनले एमाले र माओवादीका एक र एक मन्त्री नियुक्त गर्नेछन् ।

पौडेल निकट स्रोतका अनुसार एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल पनि मन्त्री बन्ने भएका छन् । पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै माओवादीले नाम दिन मानेको थिएन ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डले उनलाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका छन् । जम्मरकट्टेलले भने, ‘सपथग्रहणमा जाने भन्ने टुंगियो । मन्त्रालय अझै प्रष्ट भएको छैन ।’

जम्मरकट्टेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गर्दै आएका छन् । केन्द्रीय सरकारको गृह मन्त्रालयसरहको मानिने यस मन्त्रालय प्रदेशमा मुख्यमन्त्रीपछिको शक्तिशाली मन्त्रालय मानिन्छ ।