जनयुद्व दिवस मनाउँदै प्रचण्डले भने ‘क्रान्ति दिवा सपना होईन’

755
views

काठमाडौं १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्दलाई वाम एकतामा सहभागी हुन आह्वान गरेका छन् । जनयुद्धको २३ औँ वार्षिकोत्सव मनाउन पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहयोद्धाहरू वैद्य र चन्दलाई एकताका लागि विशेष आह्वान गरेका हुन् ।

विप्लवलाई रहर र लहड छाड्न आग्रह
प्रचण्डले क्रान्ति दिवा सपना नभएको बताउँदै वैद्य र विप्लवलाई फर्किन आग्रह गरेका छन् । प्रचण्डले विप्लवलार्य ‘दिवास्वप्न र लहडले क्रान्ति हुँदैन भन्ने जान्दा जान्दै क्रान्तिका कुरा नगर्न अनुरोध गर्दै भने ‘म कमरेड विप्लवलाई आग्रह गर्छु–दिवास्वप्नबाट केही पनि हुँदैन । सपना धरातलमा टेकिएको हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ, विज्ञानमा आधारित हुनुपर्छ, रहर र लहडले क्रान्ति हुँदैन् ।’’ अध्यक्ष प्रचण्डले एकचोटी शक्तिशाली केन्द्र बनाएर राष्ट्रलाई एकताबद्ध गर्दै समाजवादको यात्रामा अघि बढ्न पनि अपिल गरे ।

वैद्यलाई बुझाए माक्र्सवाद !
विप्लवलाई ‘सुझाव’ दिएपछि प्रचण्ड आफ्ना ’राजनीतिक गुरु’ वैद्यमाथि केन्द्रित भए । ‘मेरो गुरु भनेर परिचित कमरेड किरण द्वन्द्वात्मक भौतिकवाद के चिज हो ? अतिभूतवाद के हो ?’, प्रचण्डको प्रश्न थियो, ’कितावमा द्वन्द्वात्मक भौतिकवाद धेरैले पढे, धेरैले लेखे तर जीवनमा रियलाइज (महसुस) गरेर जनता जहाँ छन् त्यहाँ जानु नै मार्क्सवादको चुरो कुरा हो ।’

प्रचण्डले वैद्य र विप्लवलाई दुबैजना जनता छोडेको र बहसबाट भागेर हिँडेको आरोप लगाए । ’उहाँहरू जनता छोडेर जान थाल्नुभएको छ । जनतादेखि भाग्ने अनि लुके छिपेर भन्दै नभनिकन घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नबाट बिउँझिन म कमरेडहरूलाई अपिल गर्न चाहन्छु । मेरो यो गम्भीर अपील हो । मेरो हार्दिक अपिल पनि हो ।’
नेतृत्वको अवसर
अध्यक्ष प्रचण्डले वाम एकता प्रक्रियालाई ‘महान अभियान’ को संज्ञा दिए । उनले त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको बताए । एमाले र माओवादी केन्द्रको एकता नेतृत्व व्यवस्थापनमा कुरा नमिलेर अड्किरहेका बेला प्रचण्डले नेतृत्वको अवसर आएको भन्दै त्यसमा पटक पटक जोड दिए ।

प्रचण्डले जनयुद्धको जगमा जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, हालै भएका तीन तहका निर्वाचन, माओवादीले अघि सारेको वाम गठबन्धन र पार्टी एकताको प्रस्तावका कारण नेतृत्वको अवसर प्राप्त भएको प्रचण्डको भनाई थियो। ’यो अवसर गुम्न नदिउँ’ प्रचण्डले भने, ’एउटा ग्रेट डिबेट (महान बहस) बाट मात्रै ग्रेट रिभोलुसन (महान क्रान्ति) को जन्म हुन्छ। बहसबाट भागेर दुनियामा क्रान्ति कहीँ पनि अगाडि बढेको छैन ।’प्रचण्डले जनयुद्व दिवसमा आयोजित कार्यक्रमको केक काटेर उद्घाटन गरेका थिए ।