एमाले–माओवादी एकताको आज टुङ्गो लाग्ने

773
views

काठमाडौं २ फागुन । नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) वीच प्रस्तावित एकताको विषय टुग्यांउने जिम्मेवारी एकता संयोजन समितिलाई दिइएको छ । दुई दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मङ्गलवार भएको भेटमा एकीकरणको विधि र प्रक्रियामा छलफल गरी त्यसको अन्तिम रुप दिने जिम्मेवारी एकता संयोजन समितिलाई दिइएको हो ।

दुई अध्यक्षबीच सोमवार पनि वार्ता भएको थियो । त्यहीअनुसार एकताका विषयमा मङ्गलवार छलफल टुङ्गयाउने सहमति भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि जनयुद्ध दिवसकै दिन एकता प्रक्रिया टुङ्गो लगाउने धारणा राख्नुभएको थियो । तर एकताको मोडालिटी र सैद्धान्तिक पक्षमा दुई नेताबीचमा भएको छलफलमा सहमति नभएपछि थप गृहकार्यका लागि संयोजन समितिलाई जिम्मेवारी दिइएको हो ।

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा लगभग आधा घण्टा दुई अध्यक्षबीच छलफल भएको थियो । एमालेका सचिव प्रदीप ज्ञवालीले सोमवार भएको छलफललाई कसरी अन्तिम रुप दिने भन्ने विषयमा दुई नेता बीच कुराकानी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बुधबार विहान दुई नेताबीच एकपटक फेरि छलफल हुनेछ र त्यसपछि संयोजन समितिको बैठक बसेर त्यसलाई टुग्यांउनेछ ।’

दुई अध्यक्षबीच बुधबार तीन बजे संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । नेतृत्वको मोडालिटीको विषयमा जिज्ञासा राख्दा उहाँले दुई जना अध्यक्षले संयुक्त रुपमा पार्टीको नेतृत्व गर्ने लगभग सहमति भएको र त्यसका प्राविधिक कुरा मिलाउन बाँकी रहेको जानकारी दिनुभयो । बुधवार बस्ने समितिको बैठकले यस विषयमा टुङ्गो लगाउँछ, उहाँले भन्नुभयो ।

पार्टी एकता संयोजन समितिमा ओली र प्रचण्डसहित एमालेबाट नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहनु भएको छ भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा ‘बादल’ रहनु भएको छ ।