‘नयाँ सरकार सहमति र एकताका साथ अघि बढोस् भन्ने मेरो शुभकामना छ’

625
views

काठमाडौं ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । बिहीबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन् । देशवासीको नाममा सम्बोधन गर्दै देउवाले नयाँ सरकार दिगो शान्ति, सहमति र एकताका साथ अघि बढोस् भन्दै शुभकामना दिएका छन् । संविधानमा तोकिएका तीनवटै तहका निर्वाचन सम्पन्न भएको र प्रदेशहरूमा समेत नयाँ सरकार बन्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले आफ्नो कार्यकाल संविधान कार्यान्वयनमा सफल रहेको बताए ।

सफलतापूर्वक तीनवटै निर्वाचन पूरा भएको भन्दै उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम भएको भन्दै उनले खुसी व्यक्त गरे । छिमेकी मुलुकसँग समानातामा आधारित सिद्धान्त अंगिकार गरेको उनको भनाई थियो ।

पारस्परिक सहयोगलाई नयाँ अध्यायमा लगेको भन्दै देउवाले सबैको सद्भाव र सहयोगमा देश अघि बढ्ने बताए । मुलुकको दिगो विकासको ’रोडम्याप’ तयार गरिएको भन्दै देउवाले राजस्व संकलन लक्ष्य मुताबिक नै भएको बताए । उत्पादन र रोजगार वृद्धि हुनेगरी आर्थिक विकास भएको उनको दावी छ ।

सम्बोधनमा देउवाले असमानता र जोखिममा रहेका नागरिकको जीवनस्तर सुधार गर्न सरकारले ठोस पहल गर्नुपर्ने बताए। सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० बाट ६५ बनाउने निर्णयको उनले बचाउ गरेका छन् ।

राजनीतिक अवसरवाद अन्त्य हुनुपर्ने उनको भनाई छ । बल प्रयोग नगरी निर्वाचन गरिएकोमा उनले सन्तोष व्यक्त गरे। बल प्रयोग गरिएको भए संक्रमणकाल अझ लम्बिने र हिंसा भड्किन सक्ने खतरा रहेको उनले बताए ।