माओवादीले ओली नेतृत्वको सरकारमा मन्त्री नपठाउने

559
views

काठमाडौं ३ फागुन । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा तत्काल मन्त्री नपठाउने भएको छ । बुधवार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक विमति उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल सरकारमा मन्त्री नपठाउने भएको हो ।

‘हिजोको संयोजन समितिको बैठकमा उहाँहरुले जबजलाई एकीकृत पार्टीको कार्यदिशा बनाउनुपर्ने अडान राख्नुभयो, हामीले जबज, माओवाद र २१ औं शताब्दीको जनवादलाई महाधिवेशनसम्म छलफलमा लगौं भनेर प्रस्ताव गरेका थियौं त्यसमा पनि उहाँहरुको सहमति नभएपछि हामी अहिले सरकारमा नजाने स्थितिमा पुगेको माओवादी केन्द्रका एक नेताले बताए ।

सरकारमा सहभागी नभए पनि माओवादी केन्द्रले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन भने दिनेछ । बिहीबार बिहान भएको बैठकमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङ, गिरिराजमणी पोखरेलसहितका नेताहरु सहभागी थिए ।