सरकारले छिट्टै पूर्णता पाउने नवनियुक्त प्रधानमन्त्रीको दाबी

621
views

काठमाण्डौ, ४, फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिट्टै पूर्णता पाउने दाबी गरेका छन् । शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा जारी गरेको सन्देशमा ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै भनेका छन्, ‘यही निर्वाचनको परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको छ । अब चाँडै नै सरकारले पूर्णता पाउने विश्वास म यहाँहरुलाई दिलाउँछु ।’

प्रधानमन्त्रीले अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताए । उनले भनेका छन्, ‘प्राकृतिक स्रोत,साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो ।

अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीकाअवसरहरु सृजना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मुलप्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।

राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धता दोर्होयाउँदै प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेका मौलिकहकको प्रत्याभूतिका लागि सरकार सधैं प्रतिबद्ध रहने बताए । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समूदायलाई शुभकामना व्यक्त समेत गरेका छन् ।