के मिल्दैन ओली–प्रचण्ड भेटमा ? संयोजन समितिको बैठक स्थगित

1351
views

काठमाडौँः दुई पार्टीको एकतालाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीच पटक पटक भेटवार्ता भएपनि पार्टी एकताको गाँठो अझै फुकेको छैन् । दुई अध्यक्षबीच आज (आइतवार)को वान टु वान वार्तामा पनि एकताको बारे खासै निक्योल हुन सकिरेहेको छैन् ।

नेकपा माओवादी निकट व्यवसायी दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा दुई नेताबीच अहिले वान टु वान वार्ता जारी छ । नयाँ पार्टीको सैद्धान्तिक विचारधारा र नेतृत्व बाँडफाँटमा कुरा नमिलिरहेका बेला दुई नेता एकतालाई निचोडमा पुर्याउन जुटेका हुन् ।

गृहकार्य अझै बाँकी रहेको भन्दै दुई नेताले मात्रै वार्तामा बस्ने भनेपछि आजै हुने भनिएको एकता संयोजन समितिको बैठक पनि स्थगित भएको छ । दुई नेताले आज वार्तास्थल पनि फेरेका हुन् । यसअघि भानववनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा वार्ता गर्दै आएका ओली–प्रचण्ड आज झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा पुगेका हुन् ।

एमाले र माओवादीबीच पार्टीले अवलम्बन गर्ने सिद्धान्त र नेतृत्वमा कुरा नमिलेको सार्वजनिक भएपनि प्रचण्ड एकतलाई छिट्टै अगाडी बढाउन चाहिरहेका छन् भने एमाले पर्खाइको बाटोमा देखिएको छ । एकताकै विषयमा केन्द्रित रहेर माओवादीले सरकारमा जाने नेताको टुंगो गरेको छैन् ।

दुई नेताबीच नयाँ पार्टीको नाम र सांगठानिक संरचनाबारे करिब कुरा मिलिसकेको छ । यसअघि माओवादीले सबै कुरा प्याकेजमै टुंग्याउने बताएपछि नेकपा माओवादी केन्द्र ओली नेतृत्वको सरकारमा पनि गएको छैन ।