गुण्डा नाईके मनोज पुनलाई १२ र आलेलाई १० गोलीमा उडाईयो

899
views

काठमाण्डौ, ९ फागुन । गुण्डा नाईके मनोज पुन मलेशियामा रहेको भनिएपनि भारतीय भूमिमै रहको हुन सक्ने प्रहरीको अनुमान थियो । घटना गराएपछि पुनले उच्चतम सूचना प्रविधिको प्रयोग गरी फोनमार्फत आफुले घटाएको भन्दै जिम्मा लिने गर्दथे । जसमा मोवाइलमा कलर आईडी देखिदैन थियो ।

बसन्त पौडेलको हत्यापछि मनोज पुनको लागि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो । ‘रेडकर्नर नोटिस जारी गरेपछि भारतीय प्रहरीले पनि यो घटनालाई गम्भीरतापूर्बक लिन थाल्यो’, एसपी श्याम ज्ञवाली भन्छन्, ‘उता असुरक्षित महसुस गरेकाले यता आएका हुन सक्छन् ।’

मनोज पुनसँगै कारबाहीमा मारिएका सोम आले समुहको मुख्य व्यवस्थापनको काम गर्दै आएका थिए । घटना गराउनलाई मोटरसाइकल, हतियार जुटाउने जिम्मा उनकै थियो । आलेले पाल्पामा यस अघि १० वर्ष कैद भुक्तान गरिसकेका थिए । मनोज पुन र सोम आले प्रहरी कारबाहीमा मारिएपछि उनीहरुको साथमा रहेका सामानहरु पनि प्रहरीले फेला पारेको छ ।

प्रहरीले ल्यापटप, डायरी, मोबाइल, लगायतका सामान बरामद गरेको बताएको छ । पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा उनीहरु मारिएको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको प्रहरी दाबी छ ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका पुन र आलेको लुम्बिनी अञ्चल अस्पतालमा बुधबार विहान मृत्यु भएको एसपी ज्ञवालीले बताए ।

पुन देवदह निवासी हुन् । गुण्डा नाइके पुनले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरद गैचन, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी तथा युवा व्यवसायी बलु पौडेल हत्याको जिम्मेवारी लिएका थिए ।

प्रहरी इन्काउन्टरमा मनोज पुनलाई १२ गोली लागेको छ । अगाडिको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरी मुचुल्कामा उल्लेख छ ।

सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।