फोरम सहितको सरकार बनाउने कसरतमा ओली–प्रचण्ड

903
views

काठमाण्डौ, १०, फागुन । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम हितको सरकार गठन गर्ने तयारीमा लागेका छन् । फोरम सरकारमा सहभागि हुँदा दुइ तिहाई बहुमत हुने र फोरम सरकारमा सहभागी हुन सकारात्मक देखिएपछि दुई नेता गृहकार्यमा जुटेका हुन् ।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने ।

एमाले–फोरम वार्ता
एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए । फोरमले विगतदेखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो । स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन् ।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने छलफल प्रारम्भिक चरणमै रहेकाले एमाले र माओवादीको धारणा प्रस्ट नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, ‘अहिले छलफल प्रारम्भिक चरणमै छ, संशोधनबारे उहाँहरूको कस्तो धारणा आउँछ, परिस्थिति सकारात्मक बने सरकारमा जाने हो, नत्र प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्छौं ।’

ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारमा छलफल
प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकार विस्तारमा केन्द्रित रहेर बुधबारै बालुवाटारमा एकघन्टा छलफल भएको थियो । ‘उहाँहरूबीच मन्त्रिपरिषद् विस्तार र समसामायिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो’, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘प्रधानमन्त्री ज्यू छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा हुनुहुन्छ ।’

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच मन्त्रालय भागबन्डामा केन्द्रित रहेर छलफल भएको थियो । अर्थ, गृह, परराष्ट्र, भौतिक योजना तथा पूर्वाधार, जलस्रोतजस्ता महत्वपूर्ण मन्त्रालय भागबन्डा गर्दा फोरमलाई कसरी मिलाउने भन्ने विषयमा ओली र प्रचण्डबीच कुराकानी भएको थियो । बालुवाटारमा छलफल सकिएलगत्तै दुवै नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।