गुटबन्दीमा काँग्रेसः संसदीय दलको नेतामा आशा नगर्न सभापतिलाई सिंहको सुझाव

650
views

सिन्धुली, ११, फागुन । नेपाली काँग्रेभित्रको गुटबन्दी सतहमा देखिदै गएको छ । यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सिनधुली पुगेर कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन् । उनले काँग्रेसका बरिष्ठ नेताहरु र समभापति नै विधिसम्मत नचलेकोे बताए ।

नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूले एकाधिकारमा पार्टी चलाएको समेत खुलाए । उनले भने ‘कांग्रेस विधिसम्मत रुपमा चलेको छैन,’ उनले भने, ‘म पनि त्यही कार्यसमितिमा छु, कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दवाव दिइरहेको छु ।’

सभापति र वरिष्ठ नेताले विधान मिचेको बताउँदै नेता सिंहले ‘अहिलेसम्मको गल्तीलाई सच्चाएर जानुपर्छ भनेर दवाव दिएको छु, म संसदीय समिति र कार्यसम्पादन समितिको बैठकमा गएको छैन, मैले अडान लिएको छु ।’

सिंहले कांग्रेसका सीमित नेताहरूका कारण निर्वाचनमा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । सभापति देउवा गुटको मात्रै सभापति जस्तो देखिएको बताए। ‘सभापति शेरबहादुर देउवाजी सबैको सभापति बन्न सक्नु भएन, गुटको मात्रै सभापति बन्नुभयो,’ उनले भने।

‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ, पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन,’ सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लाग्नुपर्छ, विशेष व्यक्ति र नेतालाई मानेर जाने होइन, कांग्रेसको सिद्धान्त र आदर्शलाई मानेर जानुपर्छ।’

नेता सिंहले विधानलाई संशोधन गरेर सांगठनिक संरचना बनाउनुपर्ने बताए । उनले संगठन चुस्तदुरुस्त नहुँदा कांग्रेसका संगठनहरू कमजोर भएको बताए। सिंहले भने, ‘उहाँले जिम्मेवारी बहन गर्न नसकेपछि पदमा बसिरहन मिल्छ?’

देउवाले कुनै पनि काम गर्न नसकेको उनको आरोप थियो। ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ?,’ उनले भने, ‘प्रकाशमानले सधैं शेरबहादुरको विरोध गर्छ भन्छन्, काम नगरेपछि आलोचना त हुन्छ ।’

सभापति देउवालाई संसदीय दलको नेताको लोभ नगर्न सुझाव दिएका छन् । ‘शेरबहादुर देउवाले अवसर पाउनु भयो, उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन,’ उनले भने, ‘दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ, जिल्लाहरूमा प्रशिक्षणको माग छ, त्यति सानो काम पनि सभापतिले गराउन सक्नु भएन ।’