टर्कीका १६ महिलालाई मृत्युदण्डको फैसला

629
views

एजेन्सी, १५ बग्दाद । इराकको अदालतले इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई सोमबार मृत्युदण्डको फैसला सुनाएको छ । अदालतका प्रवक्ता अब्दुल सत्तार अलका अनुसार मृत्युदण्ड पाएका महिलाहरू लामो समयदेखि आइएससँग आबद्ध थिए । महिलाहरूले आइएस लडाकुसँग विवाह गरेको र विद्रोहीलाई सहयोग गरेकै कारण मृत्युदण्ड दिएको प्रवक्ता सत्तारले अन्तर्रा्ष्ट्रिय मिडियालाई जानकारी दिएका छन् ।

मृत्युदण्ड पाउनेमा १६ देखि ५० वर्ष उमेरका छन् । आइतबार विशेष सुरक्षाबीच महिलाहरूलाई अदालतमा उपस्थित गराइएको थियो । महिलाहरूको अनुहार कालो कपडाले ढाकिएको थियो ।

महिलाहरूलाई फौजदारी मुद्दाअनुरूप कारबाही गरिएको सत्तारले बताए । मृत्युदण्ड पाउनेमध्ये चारजना १६ वर्षका छन् । आइएस लडाकुहरूको आफन्त भएको आशंकामा पछिल्लो समय इराकमा पाँच सय ६० महिला र ६ सय बालबालिका पक्राउ परेका छन् ।