राष्ट्रपतिमा विद्या नै दोहोरिने प्रचण्डको संकेत

724
views

काठमाण्डौ, १८, फागुन । एमाले र माओवादी केन्द्रका शीर्ष तहका नेताहरुले विद्या भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिँदा विविध दृष्टिले मुलुकको हित हुने तर्क अघिसारेका हुन् ।

निर्वाचन आयोगले आगामी २९ गते राष्ट्रपतिको निर्वाचनको मिति निर्धारण गरेपछि यो विषयलले प्रवेश पाएको छ । खासगरी एमाले नेता झलनाथ खनाल, सुवास नेम्वाङ, माओवादी केन्द्रका अमिक शेरचनलगायतको नामले राष्ट्रपतिको आकांक्षीको रुपमा चर्चा देखाएपनि विद्या भण्डारीलाई नै दोहोर्याउने संकेत देखिएको छ ।

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विद्यालाई नै राष्ट्रपति बनाउनुपर्नेमा एक ठाउँ उभिएका छन् । ओलीको सार्वजनिक धारणा नआए पनि प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिमा हालकै अनुहार दोहोरिने संकेत विभिन्न अवसरमा गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विद्यादेवी नै दोहोरिने संकेत गरेका छन् । हालकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोर्होयाउने मत नेकपा एमाले र माओवादी केन्द्रमा बलियो रहेको उनको भनाई छ ।

राष्ट्रपति र उपराष्ट्रपति दुबैले पुरै समय कार्यकाल विताउन नपाएकाले अहिलेकै व्यक्तित्वहरुलाई निरन्तरता दिने विषयमा छलफल चलिरहेको उल्लेख गर्दै प्रचण्डले एक–दुई दिनभित्रै यस विषयमा आफूहरु टुङ्गोमा पुग्ने जानकारी दिए ।

उनले एमालेले राष्ट्रपतिको टुङ्गो लागेपछि मात्रै माओवादी केन्द्रले उपराष्ट्रपतिको टुङ्गो लगाउने उनको भनाई थियो । विद्या नै राष्ट्रपतिमा दोहोरिए आफूले उपराष्ट्रपति भए पनि पाउनुपर्ने चाहना प्रस्तुत गर्दै आएका माओवादी केन्द्रका नेता अमिक शेरचनको सम्भावनालाई अन्योलमा पार्दै प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुन नै पुनः दोहोरिने संकेत गरे ।

भोलि शनिबारसम्म मन्त्रालय बाँडफाँडलगायतका विषय टुङ्गो लगाएर आइतबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको पनि प्रचण्डले बताए ।