त्रिपुरा र नागाल्यान्डमा भाजपा, मेघालयमा कंग्रेस

662
views

एजेन्सी, २०, फागुन । भारतका तीन राज्यमा भएको विधानसभा निर्वाचनमध्ये दुई राज्यमा भारतीय जनता पार्टी भाजपालाई सफलता मिलेको छ । पूर्वी राज्यहरू त्रिपुरा र नागाल्यान्डमा भाजपालाई सफलता मिलेको छ भने मेघालयमा कंग्रेसले पहिलो पार्टी बनेको छ । पूर्वी भारतको मेघालय र नागाल्यान्डमा गत २७ फेब्रुअरीमा निर्वाचन भएको थियो भने त्रिपुरामा १८ फेब्रुअरीमा मतदान भएको थियो । तीन राज्यका कुल एक सय ८० सिटका लागि भएको निर्वाचनमा आठ सय ५७ उम्मेदवार मैदानमा उत्रिएका थिए ।

त्रिपुरामा पनि भाजपाकै वर्चस्व
त्यस्तै, ६० सिट भएको त्रिपुरामा ४३ सिट जितेर भाजपा पहिलो भएको छ भने भारतीय कम्युनिस्ट पार्टी (सिपिएम)ले १६ सिट प्राप्त गरी दोस्रो भएको छ । त्यस्तै, एक सिटमा अन्य दलले विजय हासिल गरेको छ । बहुमतसँगै त्रिपुरामा भाजपाले सरकार बनाउने भएको छ । भाजपालाई सरकार गठन गर्न केवल ३१ सिट आवश्यक पर्छ ।

त्रिपुरामा कंग्रेस निकै कमजोर देखिएको मतपरिणामले देखाएको छ । सन् २०१३ को विधानसभा निर्वाचनमा १० सिट जितेको कंग्रेसले शनिबारको नतिजामा एक सिट पनि ल्याएन । ६० सदस्यीय त्रिपुरासभाका लागि फेब्रुअरी १८ मा ५९ सिटका लागि चुनाव भएको थियो । सिपिएमका उम्मेदवारको मृत्युपछि एक सिटमा निर्वाचन स्थगित भएको थियो ।

मेघालयमा कंग्रेस पहिलो
एनडिटिभीका अनुसार कुल ६० सिट भएको मेघालय विधानसभामा २१ सिटसहित कंग्रेस पहिलो पार्टी बनेको छ । नेसनल पिपुल्स पार्टी (एनपिपी)ले १९ र भाजपाले दुई सिट प्राप्त गरेका छन् । अन्य दलले १७ सिट प्राप्त गरेका छन् । उम्मेदवारको हत्याका कारण एउटा क्षेत्रको निर्वाचन स्थगित भएको थियो । मेघालयमा सबैभन्दा ठूलो दलको हैसियतले कंग्रेसले सरकार बनाउने सम्भावना बढेको छ । कंग्रेस नेता अहमेद पट्टेल र कमल नाथले स्वतन्त्र सांसदहरूको सहयोगमा मेघालयमा सरकार बनाउने संकेत गरेका छन् । मेघालयका मुख्यमन्त्री मुकुल संग्मा अमपाती र संग्कोक क्षेत्रबाट विजयी भएका छन् । मेघालयमा अहिले कंग्रेस सत्तामा छ र उसले दोस्रोपटक सरकार बनाउने तयारी गरेको छ । भाजपाले नेसनलिस्ट डेमोक्र्या्टिक प्रोगे्रसिभ पार्टीसँग गठबन्धन गरेको थियो ।

नागाल्यान्डमा भाजपा गठबन्धनलाई सफलता
नागाल्यान्डमा भाजपा एनडिपिपी गठबन्धनलाई राम्रोे सफलता मिलेको छ । कुल ६० सिट भएको नागाल्यान्डमा भाजपा गठबन्धनले २९ सिट ल्याएको छ । त्यस्तै, नागा पिपुल्स फ्रन्ट (एनपिएफ)ले पनि २९ सिट जितेको छ । अन्य राजनीतिक दल दुई सिटमा विजयी भएका छन् । नागाल्यान्डमा भाजपा गठबन्धनले सरकार बनाउने अपेक्षा गरेको छ ।

भाजपाको ऐतिहासिक जित– योगी

उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री योगी आदित्य नाथले भाजपाले त्रिपुरा र नागाल्यान्डमा ऐतिहासिक सफलता प्राप्त गरेको बताए । शनिबार भारतीय राजनीतिमा महत्वपूर्ण दिन भएको उनले टिप्पणी गरे । नागाल्यान्ड र मेघालयमा भाजपाको प्रस्तुति ऐतिहासिक भएको उनले दाबी गरे । ‘जारी निर्वाचनमा भाजपाले ऐतिहासिक विजय हासिल गरेको छ । विजयका लागि प्रधानमन्त्री मोदी, भाजपा अध्यक्ष अमित साह र सम्पूर्ण कार्यकर्तालाई बधाई दिन चाहन्छु । त्रिपुरामा भाजपाले ऐतिहासिक विजय हासिल गरेको छ । नागाल्यान्ड र मेघालयमा पनि हाम्रो प्रस्तुति राम्रो छ,’ आदित्य नाथले भने ।