काँग्रेस संसदीय दलको नेतामा देउवालाई दुई तिहाई बहुमतले जिताउने प्रयास

719
views

काठमाण्डौ, २० फागुन । नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ ।

आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षले गरेको छ । तर, संस्थापन पक्ष भने कांग्रेसले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयनका लागि चुनाव गराएर ऐतिहासिक काम गरेको बताउँदै आएको छ ।

संस्थापन पक्षका नेता सांसद बालकृष्ण खाणले दलको नेतामा देउवा सभापतिको उम्मेदवार बन्ने र उनले दुईतिहाइले जित्ने दाब िगरे । ‘सभापतिले नेता बन्ने चाहना राखेपछि अन्य नेता सर्वसम्मत बनाउन राजी हुनुपर्ने हो । कसैले प्रतिष्ठाको विषय बनाएर सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने पक्का भएको छ,’ खाणले बताए ।

पौडेल पक्षको शुक्रबार बसेको बैठकले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेता सिंहले निर्वाचनमा पार्टीको खस्केको साखलाई पूर्ववत् अवस्थामा र्पुयाउन र शुद्धीकरण गर्न आफू उम्मेदवार बन्ने बताए ।
यस्तो छ अंकगणित
प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् । तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् । पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ ।

सोमबार निर्वाचन
सोमबार हुने दलको नेता निर्वाचनका लागि आइतबार(आज)उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिका अनुसार अपराह्न ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।