नेपाली सेनाद्वारा उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम सञ्चालन

822
views

काठमाण्डौ, २० फागुन । नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको तेश्रो उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन गरिएको छ । शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले तालिमको उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्दै क्षेत्रीले राष्ट्रिय सुरक्षाको संयन्त्रहरुलाई सहकार्यको लागि प्रोत्साहन गरी आपसी विश्वास, एक ढिक्कापन तथा सामुहिक उद्धेश्यको भावना जागृत गराई राष्ट्रिय सुरक्षाका विषयमा एकीकृत रुपले अगाडी बढ्न यस तालिमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

क्षेत्रीले तालिम पश्चात राष्ट्रिय सुरक्षाका विविध पक्षमा विस्तृत जानकारी हुने र यसबाट राष्ट्रिय स्वार्थ तथा राष्ट्रिय विकासका सम्बन्धमा विभिन्न मन्त्रालयहरु तथा विभागहरु बीच आपसी सहयोग तथा सहकार्यमा मद्दत पुग्ने बताउनुभयो ।प्रधानसेनापति क्षेत्रीले परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई सैनिक शक्तिसँग जोडेर हेर्ने गरिएकोमा हाल आएर राष्ट्रिय सुरक्षाको दायरा बृहत हुन गएको र यसले मानव सुरक्षा, खाद्य सुरक्षा, उर्जा सुरक्षा, वातावरण सुरक्षा जस्ता विषयहरुलाई समेटेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा रक्षा सचिव विनोद केसी, सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी प्रल्हाद थापाले मन्तव्य दिनुभएको थियो । फागुन ३० गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका रथी, अधिकृतहरु गरि २५ जना सहभागी हुनुभएको छ ।

कार्यक्रमको उद्घान समारोहमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाल सरकार तथा अन्य सुरक्षा अङ्गका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीहरु विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।