पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा सम्मान गारद ‘गार्ड अफ अनर’

991
views

काठमाण्डौ, २१, फागुन । अकमास्त नेपाल भ्रमण आउन लागेका पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीलाई टुडिखेल स्थित सैनिक मञ्चमा गार्ड अफ अनर प्रदान गरिने भएको छ । नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा सम्मान गारद (गार्ड अफ अनर) दिने भएको हो ।

सोमबार साढे २ बजे काठमाडौं ओर्लन लागेका अब्बासीलाई साढे ५ बजे टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिने तयारी गरिएको छ । अब्बासी त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा ओर्लेपछि उनलाई राखिने होटेल हायात जानेछन् । त्यसपछि टुँडिखेल पुगेर उनले सम्मान गारद लिनेछन् ।

‘सरकारको निर्णयअनुसार पाकिस्तानका प्रधानमन्त्रीज्यूको सम्मानमा सैनिक मञ्चमा गार्ड अफ अनर दिने तयारी भैरहेको सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले बताए । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले टुँडिखेलमा गएर पाकिस्तानी समकक्षीलाई स्वागत गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले पाकिस्तानी प्रधानमन्त्रीले नेपाली समकक्षी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने जानकारी दिएको छ । यसबाहेक परराष्ट्रले केही उल्लेख गरेको छैन ।

तर, पाकिस्तानको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भेटवार्तामा सार्क, द्विपक्षीय आर्थिक सहकार्यदेखि रक्षा मामिलामा छलफल हुने उल्लेख छ ।

नेपाली राजदूतले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने विषयमा पनि छलफल गरेको पाकिस्तानले जनाएको छ । यद्यपि, पाकिस्तानस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले उक्त भेटबारे सार्वजनिक गरेका छैनन् ।

याक एन्ड यतीमा द्विपक्षीय वार्ता र रात्रिभोज
प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षीबीच होटेल याक एन्ड यतीमा भेटवार्ता हुने तय भएको छ । सैनिक मञ्चबाट एकैसाथ त्यहाँ पुगेपछि द्विपक्षीय भेट हुनेछ, त्यसपछि रात्रिभोज सुरु हुनेछ ।

द्विपक्षीय भेटमा गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडासहितका मन्त्री हुनेछन् ।

भेटवार्तामा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीसहित विदेशमन्त्री खवाजा मोहम्मद असिफ, विदेश सचिव तेहिमना जान्जुआ, विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसल सहभागी हुनेछन् ।

भेटवार्ता सकिएलगत्तै आयोजना हुने रात्रिभोजमा सबै दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिलाई निमन्त्रणा गरिएको छ ।