फोरम सरकारमा जाने सम्भावना घट्दै

652
views

काठमाण्डौ, २१, फागुन । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा वाम गठबन्धनका नेता र फोरमका अध्यक्ष उपेन्द्र यादवबिच आज पनि छलफल हुने भएको छ ।

फोरमलाई सरकारमा ल्याउने वाम गठबन्धनको प्रयासले आइतबार पनि सार्थकता पाउन सकेको थिएन । एमाले, माओवादी र फोरमका शीर्ष नेताहरुबीच दुई पटक वार्ता भएको थियो तर, कुनै ठोस सहमति हुन सकेन । आज छलफल हुने भएपनि सहमति जुट्ने सम्भावना कम रहेको फोरम अध्यक्ष यादवले बताएका छन् ।

यादवले सहमतिको प्रयास भइरहेको तर सहमति हुने सम्भावना ५० प्रतिशत मात्रै रहेको बताए । यसअघि हिजो विहान प्रधानमन्त्री निवास बालुवाटारमा र अपरान्ह सपथ ग्रहणपछि संसद भवनमै वार्ता भएको थियो ।

फोरमसँग संविधान संशोधनका सन्दर्भमा दुईबुँदे सहमति भए पनि मन्त्रालयको भागबण्डा मिलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार भएको वार्ता सहमति नजिक पुगेको एमालेको दाबी छ । तर यादवले भने सरकारले आफूले भनेजस्तो गर्न आलटाल गरेको बताएका छन् ।