कांग्रेस संसदीय दलको नेता छान्न मतदान

658
views

काठमाण्डौ, २१, फागुन । नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसदले संसदीय दलको नेता चयनका लागि मतदान गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान गरेका हुन् । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा रहेका छन् । सर्वसम्मतिबाट दलको नेता चयन गर्ने प्रयास असफल भएपछि मतदान भएको हो ।

देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका छन् । सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेका छन् ।

सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गरेका छन् ।

संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ साढे बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन तालिकाअनुसार बिहानसाढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए ।

पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २९ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुनेछ ।