तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला नगरकोटमा

591
views

काठमाडौं, २२ फागुन । प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको ‘जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम’ भक्तपुरको नगरकोटमा सुरु भएको छ ।

मुलुकको समसामयिक राजनीतिको समीक्षा लगायतका विषयमा छलफल गर्न तरुण दलले आयोजना गरेको ‘जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम’ तीन दिनसम्म चल्ने जनाइएको छ ।

औपचारिक रुपमा बुधवार उद्घाटन हुने सो भेलालाई पार्टी सभापति शेरबहादुर देउवाले संबोधन गर्ने भएका छन् । शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले समापन गर्ने कार्यक्रम रहेको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन आज आन्तरिक चल्न अन्तरक्रिया भएको छ । ‘‘आज जिल्लाले आफ्नो प्रतिबेदन बुझाउने र आफ्नो संगठनको अवस्थाका बारेमा धारणा राख्ने र केन्द्रीय पदाधिकारीले आफ्नो भनाई राख्ने कार्यक्रम भईरहेको महासचिव शाहले बताए ।

उनले राष्ट्रिय भेलामा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा सामसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठन चुस्त–दुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा छलफल गर्न भेला आयोजना गरिएको बताए ।