स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउन खोजियो–शभापति देउवा

764
views

काठमाण्डौ, २२ फागुन । नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट हुन नहुने बताए ।

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम कोही कसैबाट नहोस् भन्दै उनले सबै निकाय संविधानले तोकेअनुसारको दायित्व पूरा गर्न सफल हुने अपेक्षा गरे । पूर्वप्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासको आधार तयार भएकाले जलस्रोत र भौतिक पूर्वाधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए । “पर्यटन तथा जलस्रोतको विकासका लागि एकीकृत प्रयास तथा सहकार्य जरुरी छ, लगानीमैत्री वातावरण बनाउन सके वैदेशिक लगानीसमेत बढ्न सक्छ”, उनले भने ।

काँग्रेसका सभापति देउवाले नेपालको परिवर्तन काँग्रेसको नेतृत्वमा नै भएको हो भन्दै संविधान कार्यान्वयनसमेत काँग्रेसको नेतृत्वमा नै भई नेपालको राजनीतिक प्रक्रिया अगाडि बढेकामा सन्तोष व्यक्त गरे । काँग्रेसले विपक्षी पार्टीको भूमिका संसद्मा सकारात्मक तवरले खेल्ने स्पष्ट पार्दै उनले सरकारलाई आफ्नातर्फबाट पूरापूर सहयोग हुने विश्वास दिलाए ।

संविधानको कार्यान्वयनमा सकारात्मक सहयोग उपलब्ध गराइने बताउँदै नेता देउवाले आर्थिक समृद्धिको दिशामा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।