विद्या भण्डारी नै पुनः राष्ट्रपति उम्मेदवार

1392
views

काठमाण्डौ, २३ फागुन । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा दोहोरिने भएकी छन् । एमाले स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई पुनः राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो । झण्डै दुई घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

राष्ट्रपतिका लागि भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो । तर, अन्तिम समयमा भण्डारीको नाममा सहमति जुटेको हो ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार उपराष्ट्रपतिमा माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । राष्ट्रपति दोहोरिएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउने सम्भावना छ ।

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ ।

माओवादी केन्द्रकै समर्थनमा वर्तमान राष्ट्रपनि विद्या देवी भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिईन् ।