ओली नेतृत्वको सरकारलाई राजपाको समर्थन

603
views

काठमाण्डौ, २६, फागुन । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रहँदै आएको मधेसकेन्द्रित दल राजपाले अन्ततः ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । भोली आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने सो पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी गराएका छन् ।

संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी दिँदै यादवले ६ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने तर्क गरे ।

सबै तहको निर्वाचन भई मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने जनाए ।

राजपानिकट एक सुत्रका अनुसार उपेन्द्र यादवको पार्टी सरकारमा जाने भएपछि राजपाका नेताहरु निकै छटपटिएका थिए । सरकारमा जाने बहानाको खोजी सो दलभित्र हुन थालेको थियो । यस क्रममा कैलाली कारागारमा परेका रेशम चौधरकिो मामला व्यवस्थापन गर्नका लागि सरकारमा जानुपर्ने उदेकलाग्दो बहाना गर्दै सो पार्टीले सरकारलाई समर्थन दिने नीति लिएको हो । अहिले समर्थन मात्र दिने भन्दै पछि सरकारमा भाग खोज्ने रणनीति राजपा नेतृत्वले लिन लागेको स्रोतको दाबी छ ।