यसरी हुँदैछ आज राष्ट्रपति चयनका लागि चुनाव

590
views

काठमाण्डौ, २९, फागुन । राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरू मतदाता रहने छन् । नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ ।

स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता कायम गरिएको छ । संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद् सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ । राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहनुभएका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो ।