नुवाकोटलाई प्रदेश ३ को राजधानीमा बनाउन माग

1427
views

काठमाडौं, २९ फागुन । नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन ध्यानाकर्षण गराउने उद्देश्यले सोमबार एक कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति नुवाकोट र नुवाकोट सरोकार समाजले राजधानीमा आयोजना गरेको उक्त कार्यक्रममा नुवाकोटको वस्तुस्थिति सम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रदेश ३ का अधिकांश सांसदको सहभागिता थियो। कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र प्रादेशिक संसदमा छलफल चलाउने बताए । उनले नुवाकोटलाई सदरमुकामको एउटा विकल्पका रूपमा स्वीकार्दै विवाद नआउने गरी यस विषयमा निर्णय लिनुपर्ने बताए।

काठमाडौंका प्रदेशसभा सांसद योगेन्द्र संग्रौलाले उपत्यकामा प्रादेशिक राजधानी बनाउन नहुने भन्दै नुवाकोटले तयारी गरेकोमा धन्यवाद दिए । उनले नुवाकोटलाई सदरमुकामको विकल्पका रूपमा सोच्न सकिने आधार आफूले पाएको पनि बताए ।

प्रदेश ३ की उपसभामुख राधिका तामाङले नुवाकोट भौगोलिक हिसाबले पनि उपयुक्त रहेको बताउँदै यसमा गहन विचार विमर्श गरेर निर्णय लिइने बताइन् । प्रदेश ३ मा १ सय १० सभासद छन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको दुईतिहाइ बहुमतबाट राजधानी तोक्न सकिन्छ ।

चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले नुवाकोट चीन र भारत जोड्ने ट्रान्जिट प्वाइन्ट भएकाले प्रादेशिक राजधानीको भरपर्दो विकल्प हुनसक्ने बताए । नुवाकोटका विषयमा आफू सकारात्मक रहेको पनि उनले प्रष्ट पारे । उनले प्रदेश ३ लाई चार क्लस्टरमा विभाजन गरेर विकास गर्नुपर्ने बताए ।

उनले मकवानपुर र चितवनको एउटा, नुवाकोट–धादिङ–रसुवाको अर्को, काठमाडौं उपत्यकाको अर्को र दोलखा–रामेछाप–सिन्धुली–काभ्रे–सिन्धुपाल्चोकको एउटा क्लस्टर बनाएर विकास गर्नुपर्ने धारणा राखे।

काठमाडौंकै अर्का प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नुवाकोटलाई विकल्पका रूपमा सोच्न सकिने बताए । उनले प्रदेश ३ को राजधानीको विकल्पमा आफूले हेटौंडा, काभ्रे र नुवाकोटलाई नै हेरेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटको भौतिक पूर्वाधार र वस्तुस्थितिको अवलोकन गरिदिन सांसदहरूलाई आग्रह गरे ।

नेपाली कांग्रेस महासमिति सदस्य रमेश महतले टोखा–छहरे सुरुङमार्गको डिपिआर तयार भइसकेको र पानी पर्याप्त मात्रामा उपलब्ध रहेकाले एकीकरण ताका नेपालकै राजधानी रहेको नुवाकोट प्रादेशिक सदरमुकाका लागि उत्तम विकल्प हुने बताए । पर्यटन व्यवसायी सुमन पाँडेले नुवाकोट पर्यटकीय दृष्टिले समेत उपयुक्त ठाउँ रहेकाले प्रादेशिक सदरमुकाम यसैलाई बनाउनुपर्ने सुझाए ।

कार्यक्रममा प्रदर्शित वृत्तचित्रका अनुसार नुवाकोट तीनवटा राष्ट्रिय राजमार्गले जोडिएको छ । त्यसमा काठमाडौंको बालाजुबाट ककनी हुँदै त्रिशूली पुग्ने पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्गको गल्छीबाट त्रिशूली पुग्ने चीन र भारत जोड्ने अन्तर्रा्ष्ट्रिय राजमार्ग र काठमाडौंको टोखाबाट छहरे हुँदै त्रिशूली पुग्ने राजमार्ग पर्छन् । यसबाहेक दोलखा–सिन्धुपाल्चोक हुँदै आउने मध्यपहाडी लोकमार्ग पनि नुवाकोट जिल्लाको मध्य भाग हुँदै गल्छी पुग्छ ।

टोखा–छहरे सुरुङ मार्ग बन्यो भने राजधानीबाट ४–५ किलोमिटर सडकले नुवाकोटको समथर भूभाग जोडिन्छ । पानी, समथर जमिनको उपलब्धता पनि नुवाकोटमा प्रशस्त छ। यहाँ थानसिङ, पिपलटार, माझीटार, कोल्पुटार, आँगापुटार, गेर्खुटार, रातमाटे जस्ता फराकिला समथर फाँटहरू छन् ।

नेपाल एकिकरणका पिता पृथ्वीनारायण शाहले नुवाकोट विजय गरे पश्चात २५ बर्ष राजधानी रहेको स्थान भएकाले पनि तीन नम्बर प्रदेशको प्रादेशिक राजधानी हुनुपर्ने प्रदेश सांसदहरुले माग गरेका छन् ।