घडियाल गोही प्रजनन केन्द्रमा संरक्षण गरिँदै

2872
views

काठमाडौँ, ४, चैत । विश्वमै अति सङ्कटमा रहेको घडियाल गोहीलाई नेपालले प्रजनन केन्द्रमा कृत्रिम रूपमा बच्चा कोरेलेर संरक्षण गर्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर प्राकृतिक रूपमा रहेका घडियालका अण्डा कोरेल्ने वातावरण निर्माण गरी जन्मेको बच्चाको संरक्षण गर्ने प्रयास नेपालले गर्न थालेको छ ।

घडियाल र मगर गोही गरी दुई प्रजातिका गोहीमध्ये घडियाल गोही बढी सङ्कटमा परेको छ । हाल नेपालका कर्णाली, बबई, नारायणी र राप्ती गरी चारवटा नदीमा मात्र गोही पाइने गरेको छ । नेपालमा सन् २०१६ को गणनामा चितवनको राप्ती, नारायणी, बबई र कर्णाली नदीमा गरी कुल १९८ सङ्ख्या रेकर्ड गरिएको छ भने भारतमा एक हजार २५५ वटा घडियाल गोहीको सङ्ख्या रेकर्ड गरिएको छ ।

हाल घडियाल गोही संसारमा नेपाल र भारतमा मात्र पाइने गरेका छन् । यसअघि भुटान, बर्मा, पाकिस्तान, बङ्गलादेशलगायतका देशमा यसको अस्तित्व रहेको पाइन्छ तर कालान्तरमा यसको बासस्थान नासिँदै गएपछि ती देशबाट घडियाल गोही लोप भइसकेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार चितवनको कसरामा प्राकृतिक रूपमा नदीबाट गोहीका अण्डा सङ्कलन गरेर विशेष किसिमको वातावरण सिर्जना गरी बच्चा कोरल्ने र जन्मिएका बच्चालाई आहार र बासको व्यवस्था गरी पालन गर्ने गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार हालसम्म यो प्रजनन केन्द्रमा स्याहारसुसार गरेर हुर्काएका १२५ वयस्क घडियाल गोहीलाई नदीमा छोडिएको छ । उहाँका अनुसार हाल प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका ४०० वटा घडियाल गोहीका बच्चा छन् ।

हाल कसराको प्रजनन केन्द्रमा वार्षिक रूपमा १५० वटा बच्चा कोरेल्ने गरेको भए पनि बढीमा १३० बच्चामात्र बाँच्ने गरेका छन् । नेपालका केही वर्षपहिलेसम्म कोसी, कालीगण्डकी र महाकाली नदीमा पनि गोही पाइने गरेको थियो भने हाल यी नदीमा गोही पाउन छाडेको छ ।