रोल्पाका ५० प्रतिशत महिला बच्चा जन्माउन अस्पताल जाँदैनन्

697
views

रोल्पा, ५ चैत । मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आमा तथा शिशुमा स्वास्थ्यमा नकारात्मक प्रभाव देखिँदै आएको बताइएको छ ।

नियमित गर्भ जाँच नगराएकै कारण गत वर्ष जिल्लामा ३५ मृत शिशु जन्मिएको र २८ शिशु जन्मेको एक महिना भित्रै मरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत डा तेजेन्द्र साउदले जानकारी दिए ।

गर्भवती पटक पटक स्वास्थ्य संस्थामा जान लाज मान्ने तथा स्वास्थ्य संस्थामा गएर प्रसूति गराउँदा सुरक्षित भइन्छ भन्ने चेतनाको अभावका कारण ठूलो संख्याका गर्भवतीले घरमै बच्चा जन्माउने गरेको डा साउदले बताए । ‘सानै उमेरमा विवाह गर्ने तथा छिट्टै गर्भवती हुँदा स्वास्थ्य संस्थामा मुख देखाउन लाज मान्छन्’, साउदले भने । जिल्लामा जटिल प्रसूति सेवा पनि सञ्चालनमा रहेको छ ।

गत वर्ष यो सेवा लिने महिलाको संख्या २५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । भौगोलिक विकटता, गरिबी, चेतनाको अभाव र पारिवारिक बोझका कारण सबै गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको बताइएको छ । राससका अनुसार सरकारले रोल्पा जिल्लाका साबिकका सबै गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा ल्याएको छ ।