ड्राइभिङ अनुमति दिने ३५ अभिभावक जेलमा

616
views

एजेन्सी नयाँदिल्ली, ७ चैत । उमेर नपुग्दै ड्राइभिङ अनुमति दिएको आरोपमा भारतको हरियाणाका दर्जनौँ अभिभावक जेल परेका छन् । उमेर नपुगेका सन्तानलाई ड्राइभिङका लागि उत्साहित गर्ने ३५ अभिभावकलाई हरियाणा प्रहरीले जेलमा राखेको हो ।

अनुचित ढंगले ड्राइभिङ गर्ने बालबालिका र अभिभावक धमाधम पक्राउ पर्न थालेपछि सर्वसाधारणले सन्तोषको सास फेर्न थालेका छन् । प्रहरीले उमेर नपुगेका र इजाजतपत्र नलिई सवारी चलाउने बालबालिकाका अभिभावकलाई एक दिन थुनामा राखेको हो ।

उमेर नपुगेका व्यक्तिलाई ड्राइभिङ अनुमति नदिने अभियानको अंशस्वरूप अभिभावक कारबाहीमा परेको प्रहरीले जनाएको छ । तर, किशोर–किशोरीले सवारीसाधन चलाउन नपाउने नियमबारे आफूहरूलाई केही थाहा नभएको अभिभावकहरूले बताएका छन् । ‘उमेर नपुगेका व्यक्तिको ड्राइभिङबारे मलाई थाहा थिएन । १७ वर्षको छोरा ट्युसन कक्षा लिन बाइक लिएर गएको थियो । सोही आरोपमा हामीलाई प्रहरीले जेलमा राख्यो,’ पीडित अभिभावक सकिल अहमेदले भने ।

एक–दुई दिन जेल राखेपछि अभिभावकले आफ्ना सन्तानलाई सवारी चलाउन अनुमति दिनुपूर्व सोच्न बाध्य पार्ने एक वरिष्ठ प्रहरी अधिकारीले बताए । ‘अभिभावकले आफ्ना उमेर नपुगेका सन्तानलाई सवारीसाधन चलाउन अनुमति दिँदा भएका दुर्घटनामा पछिल्लो दुई महिनामा चार बालबालिकाको मृत्यु भएको छ ।

भारतको अर्को सहर बेंग्लोरमा पनि सुरक्षित ड्राइभिङबारे विशेष अभियान चलाइएको छ । सडकमा खतरनाक स्टन्टमा ड्राइभिङ गर्ने पाँच किशोर–किशोरीले पोस्ट गरेको भिडियोलाई केही दिनअघि बेंग्लोर प्रहरीले ट्र्याक गरी उनका अभिभावक पक्राउ गरेको थियो ।

भारतमा सडक दुर्घटना सामान्य बनेको छ । लापर्बाही ड्राइभिङ र बिग्रिएका सडक तथा पुराना गाडीका कारण बारम्बार सडक दुर्घटना हुने गरेका छन् । सरकारले सार्वजनिक गरेको एक तथ्यांकअनुसार सन् २०१६ मा सडक दुर्घटनामा भारतभर साढे एक लाख मानिसको मृत्यु  भएको थियो ।