निजी आवास अनुदान दिन दस अर्बको अख्तियारी

1325
views

काठमाडौँ, ९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि बिहीबार थप नौ अर्ब ९५ करोड रुपियाँको अख्तियारी प्रदान गरेको छ । घर निर्माण सुरु गरेका लाभग्राहीलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी प्रदान गरेको हो । अर्थ मन्त्रालयले बिहीबार नै रकम शोधनान्तर गरी प्राधिकरणलाई प्रदान गरेको थियो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले लाभग्राहीलाई अनुदान रकम लिन ढिलाइ नहोस् भनेर बजेट निकासाका लागि अख्तियारी दिइएको बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुन र्निर्माणलाई गति दिन हरसम्भव प्रयास गरिरहेको उहाँको भनाइ छ । पछिल्ला महिनामा भूकम्प प्रभावित सबै जिल्लामा निजी आवास पुनर्निर्माणले तीव्रता लिएको छ । बिहीबार सम्मको तथ्याङ्क अनुसार तीन लाख ६७ हजार १६५ घर पुनर्निर्माण भइरहेका छन् । त्यस्तै ३ लाख ११ हजार ७०३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् ।

त्यस्तै तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको प्राधिकरणले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार ८२ हजार ५८८ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । तेस्रो किस्ताबापत लाभग्राहीले एक लाख रुपियाँ प्राप्त गर्नेछन् । प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्त सम्मलाई तोकेको छ ।