ओलीको भारत भ्रमणअघि पार्टी एकता गर्न माओवादी केन्द्रको प्रस्ताव

630
views

काठमाण्डौ, ११, चैत । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गरेकोले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताए । नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भइसकेको छ ।

एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताए ।
जिम्मेवारी हेरफेर
माओवादी केन्द्रले पार्टीभित्र जिम्मेवारी पनि हेरफेर गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज रहेका नेताहरू मन्त्री भएपछि उनीहरुको ठाउँमा अर्कालाई जिम्मेवारी दिइएको हो । साहका अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश–२ मा विश्वनाथ साह, प्रदेश–४ मा हितराज पाण्डे, प्रदेश–५ मा मणि थापा र प्रदेश–६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट यथावत छन् ।

यसअघि प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीले पार्टी छाडेका छन् भने प्रदेश २ का इन्चार्ज मातृका यादव, प्रदेश ५ का वर्षमान पुन, प्रदेश ६ का शक्ति बस्नेत मन्त्री बबनेका छन् । प्रदेश ४ का इन्चार्ज देव गुरुङले प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका छन् ।